राजनीति

महाकाली पुगेको एमाले नेतृत्वलाई वाइसिएले गर्यो यस्तो आव्हान !

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यसबेला मेची महकाली अभियानमा ब्यस्त छ । फागुन २१ गते झापाबाट सुरु भएको सो अभियान यसबेला पश्चिम नेपाल पुगेको छ ।

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको उक्त लामो अभियानको नामनै आफैमा मेची–महाकाली अभियान राखिएकोले पनि यसको निकै ठूलो अर्थ रहेको एमाले नेता कार्यकर्ताहरुले बताउँदै आएका छन् ।  तर विपरित पार्टीका नेता कार्यकर्ताहरुले एमालेले मेचीदेखि महकालीसम्म सुरु गरेको यो अभियानमार्फत विगतमा भएका राष्ट्रघाती सम्झौताहरुको समेत समिक्षा गर्नुपर्ने बताइरहेका छन् ।

एमाले नेतृत्व महाकाली छेउ पुगिरहेका बेला बिगतमा भएको महकाली सम्झौताका विषयमा सोही नदीको किनारमा उभिएर आत्माआलोचना वा समीक्षा गर्न सके सो पार्टीको चरित्र सुधार हुने भन्दै विपरित पार्टीका नेता कार्यकर्ताहरुले सुझाव समेत दिइरहेका छन् ।

सोही सिलसिलामा एमाले नेतृत्वलाई कटाक्ष र व्यंग्य गर्दै माओवादी केन्द्र निकट वाइसिएलका महासचिव रामप्रसाद सापकोटा दिपशिखाले एमाले नेतृत्वले महकालीको किनारमा उभिएर विगतमा भएको राष्ट्रघाती सम्झौताबारे आत्मआलोचना गरे मात्र एमालेलाई जनताले पत्याउने सुझाव दिएका छन् । बिहीबार बिहान आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले सो सुझाव दिएका हुन् ।

त्यस्तै, अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत एमाले नेतृत्वले मेची–महाकाली अभियानबाट सिक्नुपर्ने भन्दै सुझावहरु दिइरहेका छन् ।