समाचार

“स्वर्गीय शेखर बैद्यको तेस्रो वार्षिक पुण्य तिथि तथा ६७ औं बाचन डबली सम्पन्न

दोहा, कतार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालय कतारको नियमित वाचन डबली को ६७ औ शृंखला यही मार्च १० तारिक शुक्रवारका दिन दोहाको टपफर्म रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।

साहित्यिक सर्जक राजन राई संयोजक भई सञ्चालन गर्नु भएको उक्त डबलीमा तिर्थ संगम राई, विनोद खड्का, सिताराम थापा, लेख कार्की, ईश्वर शाही, निराजन लुइँटेल, श्यामराज रानाभाट, दिलीप पराजुली, बिन्दा लामा, विक्रम चेतनशील राई ,बन्धु घिमिरे, बिन्देश्वर ठाकुर, चक्र कार्की, सुभाष सापकोटा , रूप रसाइली, शुभ सन्ध्या, गोविन्द उदासी, माधव पौडेल, वसन्त भुजेल, प्रेम प्रसाद भट्टराई, यादब रेग्मी मणि राम पौडेल लगायत थुप्रै कवि तथा गजलकारहरूले आफ्ना–आफ्ना सृजनाहरू वाचन गर्नु भएको थियो।

कतारको विविध सामाजिक गतिविधिमा लामो समयदेखि सक्रिय सहभागिता जनाउदै प्रवासमा रहेका नेपाली श्रमिकहरूका विविध समस्याहरूको साथै नेपाली साहित्यलाई नजिकबाट नियाल्नु हुने स्वर्गीय शिखर बैद्यको तेस्रो वार्षिक पुण्य तिथि सहितको डबली सञ्चालन गरिएको थियो । स्वर्गीय बैद्यको स्मृतिमा मौन धारण गरी सुरु गरिएको उक्त डबलिमा सिर्जना वाचन गर्ने सर्जकहरू तथा सो डबलीका लागि विशिष्ट श्रोताको रूपमा रहनु भएका सामाजिक अगुवा चानक पोख्रेल ज्युले उहाँको जीवनी र उहाँले कतारमा नेपाली संस्थाहरूको स्थापना तथा विकासमा खेल्नु भएको अग्रणी भूमिकाको साथै नेपाली साहित्यिक संस्थाको सुरुवात र विकासमा पुर्‍याउनु भएको अमूल्य योगदानको बारेमा बताउनु भएको थियो। स्वर्गीय बैद्य कतारमा हुने प्राय सबै जसो साहित्यिक कार्यक्रममा नियमित उपस्थित हुने तथा नेपाली साहित्यलाई प्रवासमा पनि कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा सल्लाह सुझाव दिने र सहयोग गर्ने गर्नु हुन्थ्यो। हरेक महिना हुने वाचन डबलिलाई भिडियो रेकर्ड गरी युट्युबमा अपलोड गर्न सुरु गर्नु भएका स्वर्गीय बैद्यले उहाँले चाहे अनुसारको सपना पुरा गर्न नपाउदै अल्पआयुमा संसार छोड्नु पर्‍यो।

हरेक महिनाको दोस्रो शुक्रवार सञ्चालन गरिने वाचन डबलिमा दोहाका साहित्यिक सर्जकहरुले आफ्ना आफ्ना सृजनाहरू सुनाउने र अरूका सृजनाहरू सुन्ने गर्दछन्। साहित्य क्षेत्र तथा अन्य सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आइरहेका एक जना व्यक्तिलाई विशिष्ट श्रोताको रूपमा राखेर सुरु गरिने यो कार्यक्रम भाषणबाजी बिना सञ्चालन हुने दोहाको एक मात्र बिशुद्ध साहित्यिक कार्यक्रम हो। साथै सो कार्यक्रमको सञ्चालन सँगसँगै विशिष्ट श्रोताको व्यक्तिगत –जीवनीको बारेमा पनि जानकारी दिने गरिन्छ।