राजनीति

मधेसी मोर्चाले गर्यो सरकारविरुद्ध कडा निर्णय ! अब के गर्लान् प्रचण्डले ?

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।  तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा मंगलबार दिउँसो बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । मोर्चासँग आबद्ध सात राजनीतिक दलका ४९ जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् ।

सङ्घीय गठबन्धनको फागुन २४ गते बसेको बैठकले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन सरकारसँग माग गरेको थियो । सो मागका विषयमा सरकारले कुनै पनि पहल कदमी नचालेको भन्दै मंगलबारदेखि सरकारलाई दिएको सर्मथन फिर्ता लिइएको मोर्चाको भनाइ छ ।

त्यस्तै, मोर्चाको बैठकले विभिन्न तीन चरणका कार्यक्रमसमेत तय गरेको छ । पहिलो चरणको आन्दोलनमा चैतमा माध्यामिक तह (कक्षा १०) को परीक्षा पर्ने भएकाले सामान्य विरोधका कार्यक्रम गर्ने, दोस्रो चरणमा दिन बिराएर आन्दोलन तथा विरोधका कार्यक्रम गर्ने र तेस्रो चरणमा बृहत कार्यक्रम गर्ने विषयमा छलफल भएको महासचिव झाले जानकारी दिनुभयो ।