राजनीति

बालुवाटारमा अकस्मात यसकारण भेटेका रहेछन् ओलीले प्रचण्डलाई, आयो यस्तो रिपोर्ट !

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच एक्कासि भेटवार्ता भएको छ । एमालेको मेची–महाकाली अभियानबाट एक्कासि काठमाण्डौ फर्किनुभएका अध्यक्ष ओलीले सोमबार प्रधानमन्त्री दाहालसँग करिब एक घण्टा लामो छलफल गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको बुझिएको छ । एमालेको मेची–महाकाली अभियानको क्रममा पश्चिम तराईको कपिलवस्तु पुग्नुभएका अध्यक्ष ओली सोमबार एक्कासि राजधानी फर्किनुभएको थियो ।

छलफलमा संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयले प्राथमिकता पाएको थियो । प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई संविधान संशोधनको प्रस्तावमा सहमति जनाउन आग्रह समेत गनुभएको थियो । प्रधानमन्त्री दाहालले सो प्रस्ताव राख्ने वित्तिक्कै अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गरिदिएको बालुवाटार निकट श्रोतले बताएको छ । संविधान संशोधन प्रस्तावलाई पास गर्ने उद्धेश्यले प्रधानमन्त्री दाहालले केही दिनअघिमात्र राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराइसक्नुभएको छ भने फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा सहभागी गराउने तयारी गरिरहनुभएको छ ।  प्रधानमन्त्रीको प्रस्तावमा ओलीले पुरानै अडान दाहो¥याउनुभएको श्रोतले बताएको छ ।

उता, भेटवार्तामा प्रधानमन्त्री दाहालको सोमबारै सार्वजनिक भएको चीन भ्रमणको विषयमा समेत छलफल भएको बुझिएको छ । काठमाण्डौस्थित चिनियाँ राजदूतावासले प्रधानमन्त्री दाहालको अगामी मार्च १० देखि चीन भ्रमण गर्ने समयतालिका सार्वजनिक भएको खबर बाहिर आएसँगै प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच एक्कासि भेटवार्ता भएको हो । यद्यपि, भेटवार्ताका क्रममा चीन भ्रमणका बारेका के कुराकानी भयो, त्यसबारेमा भने केही कुरा बाहिर आएको छैन ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भैरहेका बेला गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा निस्कनुभएको छ । मंगलबार दिल्लीमा आयोजना हुने आतंकवाद नियन्त्रण सम्बन्धी सम्मेलनमा भाग लिन भारत भ्रमणमा निस्कनुभएका गृहमन्त्री निधिले त्यहाँ भारतीय प्रधानमन्त्रीदेखि कांग्रेस आईका प्रभावशाली नेताहरुलाई समेत भेट्ने तयारी भैरहेको बुझिएको छ । यही बीचमा आफ्नो पार्टीको प्रभावशाली कार्यक्रमनै छाडेर राजधानी आउनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग गोप्य ढंगले निकै लामो कुराकानी गर्नु निकै अर्थपूर्ण हुनसक्ने अनुमान समेत गरिएको छ ।