राजनीति

प्रचण्ड र ओलीलाई फुटाएर यसरी ‘राजीतिक हिरो’ भए शेरबहादुर देउवा !

काठमाण्डौ । मुलुक यसबेला चुनावी माहोलमा होमिएको छ । सरकारले आगामी २०७४ वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन घोषणा गरेपश्चात यो विषयमा गरम बहस सुरु भएको छ । मुलुकका प्रमुख दलहरु निर्वाचनमा होमिइसकेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका पार्टीहरुले चुनाव घोषणाको स्वागत गरिरहेका छन् भने मधेसी मोर्चाले त्यसको चर्को विरोध गरिरहेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले नेता कार्यकर्ताहरुलाई चुनावमा होमिन निर्देशन दिइसकेको छ भने एमालेले मेची–महाकाली अभियान सञ्चालन गरिरहेको छ । मधेसी मोर्चाको चर्को विरोधका बाबजुद मुलुकमा स्थानीय चुनावको घोषणा भइरहँदा यो प्रक्रिया कसरी अघि बढ्न सक्छ र तराई–मधेसमा यसले कस्तो रुप लिन सक्ला ? भन्ने विषयमा बहसहरु भैरहेका छन् ।

झापाबाट सुरु भएको एमालेको मेची–महकाली अभियानको रफ्तारले सप्तरीमा आइपुग्दा झडपको स्थिति बेहोर्नुप¥यो । मधेसी मोर्चाको अवरोधलाई पन्छाउने क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा ५ जना प्रदर्शनकारीहरुले ज्यान गुमाए । त्यसलगत्तै एमालेको अभियान केही दिन अवरुद्ध भयो र यसबेला उ पश्चिम नेपालतर्फ लागिरहेको छ । बीच–बीचमा मधेसी मोर्चा र एमालेका कार्यकर्ताबीच झडप हुने खतराका संकेत नजिकै छन् । झडप किन पनि हुनसक्छ भने एमाले नेताहरुले यसबेला निकै आक्रमक ढंगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका नेताविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

आइतबार एमाले नेता केपी ओलीले भैरहवामा आयोजित विशाल जनसभामा मधेसीहरुको नागरिकता लिने प्रक्रियामा भारतीय घुसपैठ बढेको भन्दै कडा आलोचना गरिरहेका छन् भने सरकारलाई अलच्छिनीको संज्ञा दिएर चर्को आक्रोस पोखिरहेका छन् । उता, एमालेकै उपाध्यक्ष वामदेव गौतमले सोही सभामा सप्तरी घटनामा प्रधानमन्त्री दाहाल र मधेसी मोर्चाकै कार्यकर्ताहरुको हात रहेको भन्दै सरकार एमालेविरुद्ध गैरजिम्मेवार ढंगले प्रस्तुत भैरहेको भन्दै चर्को आक्रोस पोखिरहेका थिए । यसबाट के बुझिन्छ भने एमालेका नेताहरु चर्को रुपमा प्रस्तुत भैरहँदा मधेसी मोर्चाले पनि आफ्नै खालको तयारी गरिरहेको छ । यसले मधेसको स्थितिलाई कहाँ पुर्याउँछ ? यसले एमाले वा मधेसी मोर्चा कसलाई घाटा होला ? राष्ट्रियताको मुद्धासँग समेत जोडिएको यो बहसले कांग्रेस–माओवादीलाई चाहि घाटा हुन्छ कि हुँदैन ? यो सवालमा चर्को बहस सुरु भएको छ । मधेसी मोर्चाका नेताहरुले समेत एमाले नेतृत्वविरुद्ध चर्को आलोचना गर्नु र एमालेलाई मधेसबाट बढारिदिने कुरा गर्नु राम्रो संकेत होइन । यो तराई र मधेस मात्र होइन, हज्जारौं वर्षदेखि सार्वाभौम मुलुकका रुपमा रहेको नेपाल र नेपालीहरुका लागि समेत शुभ संकेत होइन ।

उता, पछिल्लो राजनीतिक परिस्थितिलाई मुल्यांकन गर्दा नेपाली कांग्रेस, एमाले र माओवादीबीच संघीयता र मधेसको मुद्धामा एकरुपता देखिए पनि चुनावी मुद्धामा भने कडा प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । तत्कालका लागि मधेसीहरुले उठाएका मुद्धाहरुलाई थाती राखेर स्थानीय चुनावमा जाने निश्चित गरेका ठुला दलहरुबीच चुनावी संग्राममा कडा प्रतिस्पर्धा हुने निश्चित छ । त्यसका लागि ठुला दल कांग्रेस र एमालेबीचमै दह्रो प्रतिस्पर्धा हुने निश्चित छ, त्यसैले पनि आन्तारिक टक्कर भने एमाले र कांग्रेसबीच अर्थात माओवादी केन्द्रबीच हुने देखिन्छ । केही दिनअघि भएको स्ववियु निर्वाचको परिणामले पनि यही संकेत दिएको छ ।
त्यसैले तत्कालका लागि को–कता देखिए भन्दा पनि निर्वाचनमा कोसँग प्रतिस्पर्धा हुँदैछ भन्ने कुराले नेपालको राजनीतिक समीकरण निर्धारण हुने संकेत देखापरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

एमाले सबैको आँखामा तारो !
नेपालको पछिल्लो राजनीतिक समीकरणलाई हेर्ने हो भने सतहमा एमाले र मधेसी मोर्चाबीच कडा टक्करजस्तो देखिए पनि एमाले सबै पार्टीहरुको तारो बन्दै गएको देखिन्छ । मधेसी मोर्चाले अघि सारेको मुद्धामा एमालेको सुरुदेखिकै असहमति देखिन्छ, सतही रुपमा त्यसमा तीन ठुला दल सहमत भएजस्ता देखिन्छन् । तर आन्तारिक रुपमा कांग्रेसलेनै एमालेसँग चुनावी प्रतिस्पर्धाको तयारी गरिरहेको छ । पहिलो र दोश्रो ठुलो दल भएपछि स्वाभाविक रुपमा प्रतिस्पर्धा हुनु स्वाभाविक पनि हो । त्यसैले एमालेलाई कांग्रेसले पनि कम आकिरहेको छैन । उता, माओवादी केन्द्रको आफ्नो पार्टीको राजनीतिक दृष्टिकोणनै एमालेलाई समाप्त पारेपछि मात्र माओवादीलाई स्थापित गर्न सकिन्छ भन्ने हो ।

प्रचण्ड नेतृत्वको माओवादीले हेटौंडा महाधिवेशनबाट नै एमालेलाई विस्थापित गरेर मात्र आफ्नो पार्टी स्थापित हुन सक्छ भन्ने निर्णय गर्नुले यो कुरा स्वतः स्पष्टनै छ । अन्य माओवादीहरुले त एमालेलाई देखि सहँदैनन् नै । त्यसर्थ पनि एमाले यसबेला सबै पार्टीहरुको निशानामा परेको छ । उता, केही महिना अघिसम्म सरकार विघटनको माग गर्दै आएको एमाले र त्यसलाई अप्रत्यक्ष रुपमा साथ दिइरहेको कांग्रेसको आवाजलाई बेवास्ता गर्दै प्रचण्डले सरकार विस्तार गरेका छन् । यसले पनि एमालेविरुद्ध एउटा शक्तिशाली राजनीतिक समुह खडा भएको निश्चित जस्तै देखिन्छ ।

एमालेको स्थान निर्वाचन पछि कहाँ पुग्ला ?
मुलुकमा अबको केही महिनाभित्रै स्थानीय निकायको निर्वाचन गर्ने तयारी हुँदैछ । आगामी माघ ७ गतेभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्ने भन्ने समयतालिका छ । माघभित्र तोकिएका निर्वाचनहरु हुने–नहुने निश्चित नभएपनि वैशाखमा तोकिएको निर्वाचन निश्चितजस्तै भएको देखिन्छ । यद्यपि, तराई मधेसको स्थिति कता जान्छ र त्यहाँको निर्वाचको समयतालिका भने निश्चित देखिदैन । मुलुकमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हुँदा कांग्रेस, एमाले, माओवादी, राप्रपा, नयाँ शक्ति र अन्य साना दलहरुको स्थिति के हुन्छ ? त्यो भने अहिलेनै निश्चित गर्न नसकिए पनि राजनीतिक दलहरुको रवैयाले यसको संकेत दिने गरेको छ ।

आगामी निर्वाचनमा एमालेविरुद्ध एउटा ठूलो शक्तिशाली राजनीतिक समुहनै लाग्ने देखिएकोले उसले मधेसमा आफ्नो जनमतलाई कसरी निर्धारण गर्छ, त्यसैमा उसको जित र हार निर्धारण हुने विश्लेषकहरु बताउँछन् । एमालेको पहाडमा राम्रो जनाधार रहेको देखिन्छ । मधेसमा उसले जनाधार निर्माण गर्नका लागि मेची–काली अभियान चलाइरहेको छ । त्यसैले पहाड र तराई मधेसको जनाधारलाई उसले कसरी सन्तुलन गर्नसक्छ, त्यसैमा उसको जित र हार निश्चित हुनसक्छ । उता, नेपाली कांग्रेस पनि देशव्यापी रुपमा दह्रो जनाधार भएको नेपालको सबैभन्दा ठूलो राजनीतिक शक्ति हो । उसले एमालेसँग गर्ने टक्करले पनि उसको शक्ति निर्धारण हुन्छ । एमाले नेताहरुले मधेस पुगेर दिन थालेका चर्का भाषणले भने उनीहरुलाई हारको संघारमा पुर्यादिन सक्ने एकथरी विश्लेषकहरुको भनाई छ ।

कांग्रेसले फुटायो एमाले–माओवादी !
एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा घटना घटेलगत्तै मुलुकको राजनीतिक परिस्थितिले केही कोल्टे फेरिएको देखिएको छ । प्रधानमन्त्री दाहालले त्यसलगत्तै एमालेको खस्किदो मनोविज्ञान बुझेर सरकार विस्तार गरेका छन् । एमाले मेची–काली अभियानमा व्यस्त रहेकै बेला प्रधानमन्त्री दाहालले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान तथा स्थानीय विकास मन्त्रको जिम्मा दिइसकेका छन् भने मधेसको स्थापित राजनीतिक खलाडी विजय गच्छादारलाई समेत सरकारमा भित्र्याउने योजना बनाएका छन् । कांग्रेसले यसमा पूर्ण रुपमा सहयोग गरेको छ । केही महिनाअघि देखि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीका आन्तारिक भेटघाट र निर्माण हुन लागेको नयाँ राजनीतिक समीकरणलाई कांग्रेस सभापति देउवाले विफल तुल्याइदिएका छन् ।

सम्भावित चुनावी समीकरणमा लागेका एमाले माओवादीको समीकरणलाई सप्तरी घटनाले क्षतविक्षत पारिदिएको छ । गृहमन्त्री विमलेन्द्र निधिलाई यसको योजनाकारको रुपमा कांग्रेसले अघि सारेको एमाले नेताहरुले आरोप लगाउँदै आएका छन् । केही हप्ताअघिसम्म सुमधुर देखिन थालेको एमाले माओवादी नेताहरुको व्यवहार अहिले एक अर्काप्रति आक्रमक देखिएको छ । यसकारण पनि सभापति देउवाले एमाले माओवादीलाई फुटाउन सफल भएको विश्लेषण गर्न थालिएको छ । सभापति देउवाको आन्तारिक योजना भने स्थानीय चुनाव सम्पन्न गरेर प्रचण्डलाई फकाउँदै सरकारको नेतृत्वमा पुग्ने तयारीमा रहेको विश्लेषकहरु बताउँछन् ।