आर्थिक

सहकारीले यसरी उठायो घरबास !

काठमाडौ । नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन् ।

‘हामीले ऋण चुक्ता गरिसकेका छौं । अझै पनि कानुनले थप रकम तिर्नुपर्ने देखाएमा दाखिला गर्छौं’, राईदम्पतीले भने । यति भन्दाभन्दै पनि ललितपुर नखिपोट कान्तिपुर कोलोनीनजिकको ३ रोपनी ५ आना जग्गा सहकारीले जफत गरेको छ । उक्त सहकारीबाट शोभा राईका नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं ५ को २१, २२ र १००९ कित्ता नम्बरको जग्गाबाट २९ लाख २५ हजार ऋण लिएकी थिइन् भने नारायण राईले १००७, १३०९, १३१०, १३१३ नम्बरको कित्ताबाट १७ लाख ऋण लिएका थिए ।

उनीहरूले क्रमशः २०६७ कात्तिक ११ गते र २०६८ चैत १२ गते ललितपुर मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक र सहकारीको रोक्का गराएर उक्त सहकारीबाट ऋण लिएका हुन् । राईदम्पतीले लिएको जम्मा ऋण ४६ लाख २५ हजारमा पटकपटक गरी ४८ लाख ३६ हजार ५ सय ६१ रुपैयाँ सहकारीलाई बुझाइसकेका छन् । ऋण तिरेको भौचर राईदम्पतीसँग छ । तर लिएको ऋण तिरेर अन्य हिसाब बाँकी भएमा तिर्छु भन्दाभन्दै सहकारीले करिब ६ करोड रुपैयाँको जग्गा जफत गरेको छ ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, गोरखा सहकारीले मालपोत कार्यालयमा दृष्टिबन्धक राखिएको शोभा राईका नाममा रहेको उक्त कित्ता नम्बरको सोही जग्गामा २०६८ चैत १२ गते ५७ लाख ४६ हजार रुपैयाँको कागज तयार पारेको छ । नारायण राईका नाममा रहेको सहकारीले रोक्का गरेको जग्गामा पनि १७ लाखको सट्टा ४१ लाख ५० हजार रुपैयाँको तमसुक बनाएको छ । राईदम्पतीले तिरेको ऋणको कुनै हिसाब छैन । सहकारीले यी दुवै ऋण अनि यसको ब्याज, अदालतमा लागेको खर्च, हर्जनासमेत गरी राईदम्पतीको ३ रोपनी ५ आना जग्गा एक करोड २४ लाख रुपैयाँमा सकारेको छ जब कि सहकारीले नै बनाएको तमसुक र कागजको रकम जोड्दा पनि ९८ लाख ९६ हजार रुपैयाँ मात्र तिर्नुपर्ने देखिन्छ ।

राईदम्पतीले सहकारीबाट लिएभन्दा बढीको किर्ते कागज तयार पारेको र उनीहरूले विभिन्न समयमा बुझाएको दुरुस्त हिसाब नदेखाएको आरोप लगाएका छन् । खाली कागजमा सही गराएर सहकारीले ऋण बढाएको राईदम्पतीले बताए । सहकारीले भनेकै जति रकमको सावाँब्याजसमेत गरी ८९ लाख ३१ हजार रुपैयाँ पनि आफू तिर्न तयार भएको शोभा बताउँछिन् ।

सहकारीले राई पत्नीलाई खाली कागजमा सहीछाप गराएर थप ५७ लाख ४६ हजार रुपैयाँको भार बोकाएका छन् । बज्र इन्जिनियरिङ कन्सल्टेन्सीले २०७१ मा गरेको मूल्यांकनअनुसार उक्त जग्गाको मूल्य एक करोड २४ लाख ७७ हजार रुपैयाँ छ जब कि २०६७ सालमै उक्त जग्गाको मूल्य आनाकै ७ लाख रुपैयाँ थियो ।

राईदम्पतीले ऋण तिरेको प्रमाणित रसिदसहित सहकारीले ठगी गरेको पर्याप्त प्रमाण लिएर ललितपुर जिल्ला अदालत पुगे पनि न्याय पाउन सकेनन् । अहिले उनीहरूको मुद्दा पुनरावेदन अदालतमा छ, जग्गा भने सहकारीसँग । गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष इमानसिंह राईले भने नारायणदम्पतीको ऋण तथा ब्याज, हर्जना, जरिबाना सबै जोड्दा १ करोड ६४ लाख रुपैयाँ पुगेकोमा ४० लाख छुट गरिदिएर एक करोड २४ लाख ७७ हजार रुपैयाँमा उक्त जग्गा सकारेकोे बताए । ‘हामीले कुनै किर्ते कागज बनाएका छैनौं’, उनले भने, ‘कानुनसम्मत तथा नियम पुर्यामएर जग्गा सहकारीले लिएको हो ।’ अहिले पनि उक्त रकम तिरेमा जग्गा फिर्ता गर्ने उनले बताए ।

शोभा राईले ५७ लाख ४६ हजार रुपैयाँ ऋण लिएको अध्यक्षले बताए पनि राईले भने आफूले २९ लाख २५ हजारभन्दा बढी ऋण नलिएको र खाली कागजमा सही गर्न लगाएर सहकारीले ठगेको गुनासो गरिन् । ‘हाम्रो सहकारीको यस्तै चलन छ । पेपरमा सही गरेर पैसा लैजानुस् भने’, उनले भनिन्, ‘मैले उनीहरूको विश्वासमा पर्दा ऋण लिएको करिब चार वर्षपछि मात्र आफ्नो नाममा त्यति ऋण पुगेको थाहा भएको हो ।’
राईदम्पती स्कुल सञ्चालक हुन् । सहकारीका अध्यक्ष राईकी छोरी पनि उनैको स्कुलमा पढ्ने गर्छिन् । अभिभावक भनी विश्वासमा पर्दा सम्पत्ति गुमाउनुपरेको उनले बताइन् ।

जिल्ला अदालत ललितपुरले हरहिसाब मुद्दालाई आधार मानेर अन्य मुद्दालाई यथास्थितिमा राख्दा पीडितले न्याय नपाएको अवस्था छ । लिखत दर्ता बदर, जालसाजीलगायत कुनै मुद्दा पनि जिल्ला अदालतमा सुनुवाइ भएन । हरहिसाबका लागि सहकारी विभाग वा अधिकार सम्पन्न अन्य सम्बन्धित निकायसमक्ष जान जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको फैसला आदेश छ ।