पु.समाचार

कुलमान घिसिङदेखि प्रहरी अफिसरसम्म तनावमा !

काठमाण्डौ । नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग बढिरहेको छ । फेसबुक तीव्र सुचना प्रसारण गर्ने माध्यामका अतिरिक्त विकृतको रुपमा देखिदै गएको जनगुनासाहरु सुनिन थालेका छन् । फेसबुकको बढ्दो दुरुपयोगलाई रोक्न प्रहरी प्रशासनले समेत तयारी गरिरहेका खबरहरु बाहिर आइरहेका छन्, तर प्रहरीले सुरु गरेका अभियानहरु पनि प्रभावशाली हुन नसकेका जनगुनासाहरु सुनिन थालेका छन् । सामाजिक सञ्जालको उपयोग गर्दै एक व्यक्तिले अर्को व्यक्तिको चरित्र हत्या गर्ने, पासवर्ड ह्याक गरेर सुचनाहरु चोर्ने, भीआइपी र माथिल्लो तहका व्यक्तिहरुका अनावश्यक आइडीहरु निर्माण गरेर तनाव दिने लगायतका विकृतिहरुले सामाजिक सञ्जालमाथि नै विश्वास गर्ने आधारहरु खस्किदै गएका छन् । यो सवालमा राज्यले समेत तदारुकता देखाउनुपर्ने पीडितहरुको गुनासो छ ।

को–को पर्छन् सामाजिक सञ्जालको निशानामा ?
विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ पछिल्लो समयमा नेपालमा चर्चाको पात्र बनेका व्यक्तित्व हुन् । उनको मुलुकभर जति चर्चा छ, त्यतिनै उनको नाममा अनावश्यक हल्ला चलाइदिने समुह समेत सक्रिय देखिन्छ । उक्त समुहले कुलमानका नाममा मात्र थुप्रै फेसबुक आइडी निर्माण गरेको भेटिएको छ । पछिल्ला थुप्रै महिनादेखि घिसिङले आफ्नो नाममा नक्कली आइडी बनाएर अनावश्यक हल्ला मचाउने समुह सक्रिय भएको भन्दै गुनासो पोख्दै आएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक आइडी एउटा मात्र भएको बताउँदै आएपनि थुप्रै अनावश्यक आइडीहरु भेटिने गरेको छ ।

घिसिङले आफ्नो आधिकारिक आइडी बाहेक अन्य आइडीहरुबाट पोष्ट गरेका म्यासेजहरुलाई आधिकारिक नमानिदिन आग्रह गरिरहेका छन् । त्यस्तै, पछिल्लो समयमा स्थापित नेता, स्थापित श्रष्ठाहरु, लोकप्रिय नारा लगायतको नाममा समेत नक्कली आइडीहरु निर्माण हुने गरेका छन् । स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले समेत केही समयअघि आफ्नो नाममा नक्कली फेसबुक आइडी बनाएर अनावश्यक हल्ला गरेको आरोप लगाउनुभएको थियो । त्यस्तै, नेपाली सिने क्षेत्रका स्थापित कलाकारहरुको नाममा समेत नक्कली आइडी बनाएर हल्ला मच्चाउनेहरुको समुह सक्रिय देखिन्छ । कला क्षेत्रका विशेषगरी हिरोइनहरुको नाममा नक्कली आइडी बनाउने र उनीहरुको चरित्र हत्या गर्ने समुह समेत सक्रिय हुने गरेको छ । यो सवालमा पीडित व्यक्तिहरुले आवाज सुनुवाई नहुने गरेका गुनासाहरु सुनिन थालेका छन् ।

प्रहरीका अफिसरहरु पनि निशानामा !
केही समयअघि प्रहरीकै माथिल्लो स्तरका अधिकृतहरुले आफुहरु समेत सामाजिक सञ्जाल फेसबुकबाट पीडित भएको भन्दै गुनासो पोखेको खबरहरु बाहिर आएका थिए । तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले आफु समेत सामाजिक सञ्जाल फेसबुकबाट पीडित भएको गुनासो पोखेका थिए ।

प्रहरीकै केही अफिसरहरुले आफ्नो नक्कली आइडी बनाएर हल्ला फिँजाएको भन्दै नक्कली आइडी बनाउने समुहलाई सम्झाएर खारेज गरेका इतिहास समेत भेटिन्छन् । प्रहरीका एसएसपी रमेश खरेलले सो कदम चालेका थिए । उनले आफ्नो नक्कली आइडीहरु सबै मेटाएर अहिले एउटा मात्र आइडी चलाइरहेको देखिन्छ । नियम र कानूनको कार्यान्वयन तहमा बसेका सम्बन्धित व्यक्तिहरु समेत यसरी पीडित भएपछि अवस्था थप भयावह बन्दै गएको स्पष्ट हुन्छ ।

यस्ता थुप्रै नक्कली आइडी बनाएर अनावश्यक हल्ला गर्ने र चरित्र हत्या गर्ने समुहलाई कार्वाही गर्न कस्तो नीति अप्नाउने भन्नेमै सरकार अलमलमा परेको देखिन्छ । साइबर अपराध अन्तर्गत कानून चलाउने नियम भएपनि यो सवालमा एथेष्ट नियम नबन्दा सामाजिक सञ्जलाको दूरुपयोग बढ्ने क्रम जारी छ ।

सामाजिक सञ्जाल दूरुपयोग गर्नेलाई के छ कानून ?
नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुक लगायतका सञ्जालहरुको दूरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी गर्नेहरुको भीड लाग्ने गरेको छ । तर सामाजिक सञ्जालको दूरुपयोग गर्नेहरुलाई के र कसरी कार्वाही गर्ने भन्ने एथेष्ट कानून बनिनसक्दा अप्ठ्यारो परेको देखिन्छ । साइबर अपराध अन्तर्गतको मुद्धामा कार्वाही चलाउने नियम भएपनि त्यो नियम प्रभावकारी नभएको समेत जनगुनासो सुनिन्छ ।