राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा कसले के भने, उठ्यो कडा आवाज !

काठमाडौं । कांग्रेसभित्र मधेस मोर्चामा आबद्ध दललाई सत्तासमीकरणबाट बाहिरिन नदिन दबाब बढेको छ । मधेसीलाई अलग गर्दा घोषित स्थानीय तहको निर्वाचन सुनिश्चित नहुने कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ केन्द्रीय सदस्य र तराई–मधेसका सांसदहरूले बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको कांग्रेस बैठकमा अधिकांश नेताहरूले मधेसीलाई अलग गरेर जान नहुने बताएका थिए । संशोधन विधेयक पारित गराउन कांग्रेस सक्रिय भएमा मधेसीसहित सबै दलले निर्वाचनमा भाग लिने वातावरण बन्ने उनीहरूको धारणा थियो ।

‘देशलाई निकास दिन कांग्रेस, माओवादी र मधेसी मोर्चाको समीकरणमा सरकार बने पनि समयमा संविधान संशोधन नहुँदा मोर्चा थप चिढिएको विषयमा अधिकांश नेताहरूले धारणा राख्नुभयो,’ बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले भने, ‘संविधान संशोधन भए निर्वाचनको वातावरण बन्छ र सबै दल सहभागी हुने अवस्था आउँछ भन्ने भएपछि अब कांग्रेसले सकारात्मक पहल गर्ने भन्ने भएको छ ।’

मधेसी मोर्चाले सरकारलाई समर्थन फिर्ता लिने ‘अल्टिमेटम’ दिए पनि स्थिति सहज बनाएर निर्वाचनको वातावरण बनाउन कांग्रेस अग्रसर हुने केन्द्रीय सदस्य डा। रामशरण महतले जानकारी दिए । ‘मधेसीलाई अलग गर्न हुन्न, उनीहरूको पनि कुरा सुनौँ भन्ने हाम्रो निष्कर्ष हो,’ महतले नयाँ पत्रिकासित भने, ‘संशोधन नरोकौँ, अघि बढाउँ र निर्वाचनमा जाने आधार बनाउँ भन्नेमा हामी एकमत छौँ ।’

आइतबारको नयाँ पत्रिका दैनिकमा लेखिएको छ, सप्तरी घटनापछि तत्काल संविधान संशोधन र घोषित स्थानीय तहको निर्वाचन फिर्ता लिनुपर्ने भन्दै मोर्चाले सरकाराई सातदिने अल्टिमेटम दिएको थियो । तर, कांग्रेसले मुद्दाप्रति सकारात्मक रहेको भन्दै समर्थन फिर्ता नलिन मधेसी मोर्चासँग संवाद गर्ने निर्णय गरेको छ ।

बैठकमा नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई सत्तासमीकरणबाट बाहिर जान दिन नहुने भन्दै उनले धैर्यपूर्वक अघि बढ्नुपर्ने धारणा राखेका थिए । अर्का नेता कृष्णप्रसाद सिटौलाले पार्टीको बैठक डाकेर धारणा बनाउने र संविधान संशोधनलाई टुंग्याएर निर्वाचनमा जान ढिलाइ गर्न नहुने बताएका थिए । दलहरूबीच सहमतिको वातावरण बनाएर जानुको विकल्प नभएको उनको भनाइ थियो ।

गृहमन्त्री विमलेन्द्र निधिले पनि संविधान संशोधनका लागि लाग्नुपर्ने बताएका थिए । ‘संशोधनका लागि पहल गर्ने र निर्वाचनको मिति तोक्ने गरी सभापति र प्रचण्डजीबीच सहमति भएको हो । अब संसाधनका लागि प्रयत्न गर्नुपर्छ,’ निधिले भने, ‘अब राप्रपाजस्तै अरू दललाई सरकारमा ल्याएर संविधान संशोधन गर्ने चुनावी माहोल बनाउनुपर्छ ।’

संशोधन गराउनतिर लाग्नुपर्छ : देउवा
नेताहरूले मधेसी दलको सहभागिताविना स्थानीय निर्वाचन कठिन हुने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गराउने पक्षमा आफूहरू रहेको बताएका छन् । ‘संविधान संशोधन गराउनतिर लाग्नुपर्छ,’ कांग्रेस बैठकमा देउवाले भने, ‘यसका लागि मैले पहल गरिरहेको छु ।’ देउवाले बैठकस्थलबाटै तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरी संवादबाट सहमति खोजेर मिलेर अघि बढ्नुपर्ने बताएका थिए । देउवाले ठाकुरलाई आइतबार दिउँसो ३ बजे छलफलका लागि बोलाएका छन् ।

मधेसका केन्द्रीय सदस्यको एक स्वर
मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका केन्द्रीय सदस्यहरूले एकस्वरले मधेसी दलविना घोषित स्थानीय तहको निर्वाचन कठिन भएको बताएका छन् । सत्तासमीकरण बन्दा संविधान संशोधनको सहमति भएकाले त्यसबाट कांग्रेस भाग्न नहुने उनीहरूको भनाइ थियो ।

‘मोर्चाले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको छ । उनीहरूको चेतावनीका बीच निर्वाचनमा जान कठिन हुन्छ भन्ने कुरा हामीले राख्यौँ,’ केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘सत्तासमीकरणबाट मधेसीलाई बाहिर जान नदिउँ, सहमतिमा ल्याउँ र संशोधन गरेर निर्वाचनमा जाउँ भन्ने हाम्रो मत छ ।’

कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू विमलेन्द्र निधि, फर्मुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादवसहितका नेताले संशोधन भएपछि तराई मधेसमा निर्वाचनको वातावरण बन्ने बताएका थिए । बैठकमा महेश आचार्यले संविधान संशोधन नगरी निर्वाचनमा जाँदा कांग्रेसलाई प्रत्युत्पादक हुने बताएका थिए ।

पौडेलले भने पत्रको जवाफ खोइ ?
सभापतिको पार्टी सञ्चालन शैलीप्रति नेता रामचन्द्र पौडेलले शुक्रबार पनि असन्तुष्टि राखेका छन् । ‘हामी पनि सरकारमा छौँ, तर माओवादी र अरू दलका मन्त्रीको एकलौटी देखिएको छ । हाम्रै पार्टी राम्रोसँग सञ्चालन भएन, विधि, प्रक्रिया, पद्धतिमा हिँडेन,’ पौडेलले भने, ‘नियमित बैठक नबस्ने, पार्टीका संरचनालाई पूर्णता नदिने अवस्थाले पार्टी निरंकुशतातिर जान्छ । मैले चिठी लेखेर बैठक डाक्न आह्वान गरो । तर, चिठीको वास्ता किन गरिएन ?’ आफूहरूले पार्टीमा भागबन्डा नखोजेको भन्दै पौडेलले नेताको मूल्यांकनलाई सम्मान गर्न सुझाब दिए ।

शशांक फर्किएपछि केन्द्रीय समिति बैठक
नेताहरूले निरन्तर माग गरेपछि सभापति शेरबहादुर देउवाले ३ चैतमा महामन्त्री डा. शशांक कोइराला युरोपबाट फर्किएपछि केन्द्रीय समिति बैठक आह्वान गर्ने जानकारी दिएका छन् । पार्टी बैठकमा संविधान संशोेधन, स्थानीय तहको निर्वाचन, सप्तरी र कञ्चनपुर घटना, पार्टीका संरचनालाई पूर्णता दिने विषयमा छलफल गराउने तयारी देउवाको छ । कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताहरूको अर्को बैठक १ चैतमा पुनः बस्ने भएको छ ।

सप्तरी र कञ्चनपुर घटना दुःखदायी
सप्तरीको राजविराज र कञ्चनपुर घटनाको विषय नेताहरूले उठाएपछि सभापति शेरबहादुर देउवाले दुवै घटना दुःखद भनेका छन् । ‘यस्तो घटना नघट्नुपथ्र्यो । हामी स्तब्ध भएका छौँ,’ देउवाले भने, ‘अब घटनालाई सहज अवस्थातिर फर्काउन लाग्नुपर्छ ।’ गृहमन्त्री विमलेन्द्र निधिले भारत सरकारसँग कूटनीतिक कुराकानी गर्दै विरोध जनाएको बताएका थिए । केन्द्रीय सदस्य डा. रामशरण महतले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने माग गरेका थिए ।