समाचार

एकै परिवारका ४ जनाको मृर्गौला फेल !

पर्वत । पर्वत कुर्घा–२ का त्रिलोचन शर्मा पौडेलको परिवारका चार सदस्यको मिर्गौला फेल भएको छ । प्रत्यारोपण गरेका तथा प्रत्यारोपणमा सहयोग गरेका कारण यो परिवारका सबै सदस्यसँग एउटा मात्रै मिर्गौला छ ।  मिर्गौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

पछिल्लो समय श्रीमतीको पनि मिर्गौला फेल भएको छ । ‘रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानेर नै होला, शत्रु लागे पनि रोग नलागोस् भनेर कामना गरिन्छ, तर मेरो परिवारका लागि रोग नै सबैभन्दा ठूलो शत्रु बन्यो,’ शर्माले भने, ‘परिवारका सबै सदस्य मिर्गौला रोगबाट पीडित हुँदा घरबास उठ्यो,’ त्रिलोचनकी श्रीमती प्रेमकला पौडेलको अहिले डायलोसिस भइरहेको छ । ‘डायलोसिसबाट सधैँ बस्न सकिँदैन,’ त्रिलोचनले भने, ‘सहयोग पाएमा छिटै प्रत्यारोपण गर्ने योजनामा छु, आफूसँग प्रत्यारोपण गर्ने धन छैन ।’ शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि संक्रमण हुने र नियमित रूपमा औषधि खानुपर्ने समस्या छ ।

जेठो छोरा प्रकाशको ०६३ मा २६ वर्षको उमेरमा मिर्गौला फेलकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनले मिर्गौला खराब भएको थाहा नपाएका कारण ज्यान गुमाउनुपरेको बाबु त्रिलोचनले बताए । कान्छो छोरा दीपकको २३ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरिएको छ । उनलाई ठूलो दिदी शारदा शर्माले मिर्गौला दिएपछि प्रत्यारोपण गरिएको उनले बताए । अहिले नियमित रूपमा औषधि खाँदा महिनामा २० हजारजति खर्च लाग्ने दीपकले बताए । ‘मिर्गौला फेरेर मात्रै भएन, नियमित औषधि सेवन गर्नसमेत कठिनाइ भएको छ,’ माहिली छोरी श्यामलाको पनि दुवै मिर्गौला फेल भएपछि बाबु त्रिलोचनले एउटा मिर्गौला दिएका छन् । ‘छोरीको पनि मिर्गौला फेल भएपछि मैले एउटा दिएर बचाएको छु,’ बाबु त्रिलोचनले भने ।

शारदा र श्यामलाको बिहे भइसकेको छ । गत फागुनदेखि श्रीमती प्रेमकुमारीको समेत दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उनले गुनासो गरे । कान्छी छोरी कमला मात्रै अहिलेसम्म मिर्गौलाको रोगबाट बचेको उनले बताए । कमला र दीपकको सामान्य जागिरका भरमा बिहान–बेलुकाको छाक टार्दै आएको यो परिवारले उपचारका लागि मात्रै अहिलेसम्म डेढ करोडभन्दा बढी खर्च गरिसकेको छ । अहिले दीपक र प्रेमकलाको डायलोसिसको खर्च मात्रै मासिक २० हजार खर्च हुन्छ । ‘मासिक रूपमा औषधि खुवाउनसमेत कठिन छ,’ उनले भने ।

भारतको मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आएका उनी एकाएक परिवारमा मिर्गौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएका छन् । ‘ऋणधन र जग्गा–जमिन बेचेर तत्कालीन खर्च टारे पनि अहिले आर्थिक संकटमा परेको छु,’ उनले भने, ‘मासिक रूपमा हुने उपचार खर्च कसरी ल्याउनु रु’ कान्छा छोरा दीपकको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या देखिएपछि भारतबाट महँगो मूल्यमा औषधि मगाएर नियमित सेवन गरिरहेका छन् । कान्छी छोरी कमलाबाहेक सबैजना एकपछि अर्को गरी यही अंगको खराबीले थलिँदै गएको त्रिलोचनले बताए । ‘अब परिवारमा कान्छी छोरी कमला मात्रै स्वस्थ छिन्,’ उनले भने ।