समाचार

राजधानी झलमल्ल पार्ने कुलमान घिसिङले पाए यस्तो सम्मान

काठमाण्डौ । विद्युत प्राधिकरणको नेतृत्वमा आएलगत्तै लामो समयदेखि अन्धकारमा रहेका राजधानी काठमाण्डौ लगायतका स्थानलाई लोडसेडिङ मुक्त गरेर सबैको ओठमा झुन्डिन सफल कुलमान घिसिङ सम्मानित भएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई गो–गो फाउन्डेसन अवार्ड–२०१६ बाट सम्मान गरिएको हो ।

आइतबार भएको कार्यक्रममा मुख्यसचिव सोमलाल सुवेदीले घिसिङलाई सम्मान गरेका हुन् । पूर्वमुख्यसचिव दामोदर गौतमसहित काशीराज दाहाल, जीवनप्रभा लामा र फाउण्डेसनका अध्यक्ष केदार खड्का रहेको छनोट समितिको सिफारिसमा घिसिङ सम्मानित भएका हुन् ।

लोडसेडिङ घटाउने असाधारण समाधान निकालेको भन्दै घिसिङलाई सम्मान गरिएको आयोजक पक्षले जनाएको छ । लामो समयदेखि अन्धकारमा रुमल्लिएको उपत्यका लगायत मुलुकका अधिकांश स्थानहरु एकाएक लोडसेडिङ मुक्त गराएको भन्दै कुलमानको यसबेला विशेष प्रशंसा गर्ने गरिन्छ । सिंगो मुलुकले उनलाई उज्ज्यालो अभियन्ता भनेर विशेष प्रशंसा समेत गरिरहेको छ ।