खेलकुद

भारत जाँदै टेनिस टोली

काठमाण्डौ । विश्व जुनियर टेनिस च्याम्पियनसिपको क्वालिफाइङमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ । फेब्रुअरी २७ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष/महिला खेलाडीले टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा आदित सुवेदी, सम्यकभूषण वज्राचार्य र इभेक जोशी रहेका छन् । महिलामा अभिलाषा विष्ट, प्रेरणा कोइराला र सलोनी तामाङ छन् । १६ राष्ट्र सहभागी हुने प्रतियोगिताको टिम इभेन्टमा यु–१४ उमेरसमूहका खेलाडीले २ सिंगल्स र १ डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच शुक्रबार सातदोबाटोमा बिदाइ गरे ।