राजनीति

निर्वाचनका लागि मतपेटिकाको अभाव हुने संकेत

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ । आयोगसँग अहिले झन्डै ७० हजार मात्रै मतपेटिका छन् । ३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगलाई देशभरमा रहने २१ हजार बुथका लागि झन्डै ८५ हजार मतपेटिका आवश्यक पर्छ । आयोगसँग भएका करिब सात हजार मतपेटिका बिग्रिएका छन् । त्यसैले नयाँ र अपुग मतपेटिका जुटाउन आयोगलाई हम्मे पर्ने देखिएको छ ।

शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, आयोगका अनुसार हरेक जिल्लामा १५ वैशाखसम्म मतपेटिका अनिवार्य रूपमा पुर्याउनुपर्छ, तर त्यसका लागि समय निकै कम छ । यसअघिका निर्वाचनमा नेपालले जापानबाट मतपेटिका ल्याउँदै आएको थियो । यसपटक भने जापानले निर्वाचनको समय अवधि निकै कम भएकाले मतपेटिका दिन नसकिने स्पष्ट पारेपछि आयोगलाई समस्या भएको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले मतपेटिका जुटाउन आयोगलाई कठिन हुने देखिएको बताए । ‘२५ हजार मतपेटिका समयमा नै नेपाल ल्याउने गृहकार्यमा गम्भीरतापूर्वक जुटेका छौँ, तर यो काम निकै कठिन र चुनौतीपूर्ण देखिएको छ,’ मैनालीले नयाँ पत्रिकासँग भने ।

ठूलो संख्यामा मतपेटिका अभाव हुन सक्ने भएकाले आयोगका पदाधिकारीले केही दिनअघि मात्रै जापानी राजदूतलाई आयोगमा नै बोलाएर मतपेटिका उपलब्ध गराउन आवश्यक पहल गर्न आग्रह गरेका थिए । तर, राजदूतले समय निकै कम भएकाले उपलब्ध गराउन कठिन हुने बताएका थिए ।

‘जापानबाट ल्याउन कठिन हुने देखिएपछि अब भारत तथा अन्य कुन देशबाट ल्याउन सकिन्छ भन्नेबारेमा छलफल थालेका छौँ,’ सचिव मैनालीले भने । उनका अनुसार भारतबाट ल्याउन पनि समस्या छ । भारतले आफ्नो देशमा हुने निर्वाचनमा प्रायः इभिएम (इलेक्ट्रोनिक भोटिङ मेसिन)कै प्रयोग गर्ने भएकाले त्यहाँ मतपेटिकाको चलन नै हराएको छ । ‘अन्य कुन देशमा पाइन्छ र कसरी चाँडैभन्दा चाँडै ल्याउन सकिन्छ भन्नेमा हामीले सोधखोज थालेका छौँ, तर समस्या जटिल नै देखिएको छ,’ उनले भने ।