अन्तर्राष्ट्रिय

पाकिस्तानी अदालत परिसरमा बम आक्रमण

एजेन्सी । उत्तरी पाकिस्तानमा मङ्गलबार एक स्थानीय अदालतममा तालिवान आत्मघाती बम आक्रमणकारीहरूले शृङ्खलाबद्ध रूपमा गरेको हमलामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणको पाकिस्तानी तालिवानसँग आवद्ध जमात उल अहरार (जेयूए) ले दाबी गरेको छ । यसै समूहले गत हप्ता लाहोरमा गरेको आक्रमणमा १४ व्यक्तिको मृत्यु भएको थियो ।

यस महिनाको सुरुमा पाकिस्तानको न्यायालयलगायत अन्य क्षेत्रमा आक्रमण गर्ने यस आतङ्ककारी समूहले दाबी गरेका थिए ।

आज भएको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख सुहैल आलिदले एएफपी समाचार समितिलाई बताएका छन् । यस आक्रमणमा मारिएकामा एक वकिलसमेत रहेको बताइएको छ ।

यस पछिल्लो आतङ्ककारी आक्रमणको प्रधानमन्त्री नवाज सरिफको कार्यलयले निन्दा गरेको छ । गत अगस्तमा क्वेटामा भएको आत्मघाती आक्रमणको जेयूए र इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहले जिम्मा लिएका थिए । दक्षिणपश्चिम सहरको कानूनी समूदायमाथि भएको यस आक्रमणमा ७३ व्यक्तिको मृत्यु भएको थियो ।