खेलकुद

आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा हुने

काठमाण्डौ । आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता आगामी २०७४ साल वैशाख २१ गते हुने भएको छ । नेपाल कराते महासंघका तथा सातदोबाटो डोजोको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुने दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्णधारी एवं प्रतियोगिता संयोजक दीपक श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा तीन विभागीय टोली र पाँच विकास क्षेत्रका ८८ पुरुष र ८० महिला गरी जम्मा १ सय ६८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रथम हुने टिमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख खर्च हुने बताइएको छ ।