राजनीति

राप्रपा केन्द्रीय सदस्यहरुको आयो मत परिणाम, नेतृत्वमा कोमल ओलीदेखि रेखा थापासम्म

काठमाण्डौ । राप्रपाको केन्द्रीय समिति निर्वाचनको मत परिणाम बुधबार सार्वजनिक भएको छ । केही दिनअघि देखि जारी केन्द्रीय समितिको मतदान प्रक्रिया बुधबार बिहान सकिएसँगै मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचनमा पूर्वमन्त्री एवम् राप्रपा नेता बुद्धिमान तामाङले अत्याधिक मत ल्याएका छन् । तामाङले केन्द्रीय समिति सदस्यको खुल्लातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा नेता विक्रम पाण्डेले दोश्रो स्थान हासिल गरेका छन् । पाण्डे कालिका कन्ट्रक्सनका मालिक तथा वर्तमानमा सरकारका भूमिसुधार मन्त्री हुन् । उनले १ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । त्यस्तै, १ हजार ८ सय ५७ मत ल्याएर कोमल वलीले तेश्रो स्थान प्राप्त गरेकी छन् । अविवाहित समेत रहेकी वली नेपालकी चर्चित लोकगायिका एवम् लोकप्रिय सञ्चारकर्मी हुन् ।

चौथो नम्बरमा भने नेता धवलशमशेर राणा परेका छन्, उनले १ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् । राणाले बाँकेबाट २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालासँग तिव्र प्रतिस्पर्धा गरेका थिए । उनी नेपालगञ्ज क्षेत्रका प्रभावशाली नेता समेत मानिन्छन् । आश्चर्य त के छ भने पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र स्वर्गीय सुर्यबहादुर थापाका छोराहरुले पनि अत्याधिक मत प्राप्त गरेर निर्वाचनमा विजयी हासिल गरेका छन् । लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले १ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् भने स्वर्गीय सुर्यबहादुर थापाका छोरा सुनिल थापाले १ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । थापा यसअघि आपूर्तिमन्त्री समेत भएका थिए भने चन्द ओली नेतृत्वको सरकारमा राज्यमन्त्री भएका थिए ।

त्यस्तै भर्खरै राप्रपा प्रवेश गरेकी नायिका रेखा थापाले समेत अत्याधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय प्राप्त गरेकी छन् । उनले १ हजार ६ सय ३ मत प्राप्त गरेकी छन् । कुन्ति शाहीपछि थापाले महिलातर्फ अत्याधिक मत प्राप्त गरेकी हुन् । शाहीले भने १ हजार ८ सय ४८ मत प्राप्त गरेकी छन् । नायिका थापा यसअघि माओवादी केन्द्रसँग नजिक रहेपनि केही महिनाअघि मात्र राप्रपामा प्रवेश गरेकी थिइन् । कुन्ती शाही भने पहिलो र दोश्रो संविधानसभा निर्वाचनमा समानूपातिकका तर्फबाट सभासद र यसअघिको ओली नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी थिइन् । शाही विगत देखिनै कमल थापासँग नजिक रहेर काम गरेकी अनुभवी महिला नेतृ हुन् ।

त्यस्तै निर्वाचनमा नेता राजिव पराजुलीले आठौं स्थान प्राप्त गरेका छन् । उनले १ हजार ५ सय ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । नवौं नम्बरमा प्रेम बलायरले जित हासिल गरेका छन् । उनले १ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । त्यस्तै, दशौं नम्बरदेखि बीसौं नम्बरसम्म क्रमसः ध्रुवबहादुर प्रधान(११८९), दीपक बहादुर सिंह(११८३), भुवन पाठक (११७४), गोबिन्दबहादुर खनियाँ (११६९), राजेश गिरी (११२८), विक्रमबहादुर थापा (१०९०),दिलविकास राजभण्डारी( १०९०), रविन्द्र प्रताप शाह (१०६६), राजाराम श्रेष्ठ ( १०५५), प्रेमबहादुर भण्डारी (१०४२), जगत गौचन (१०३३) मत प्राप्त गरेका छन् । पार्टीको अध्यक्षमा कमल थापाले अत्याधिक मत प्राप्त गरी निर्वाचित भएका थिए । थापाले २८ सय ४ मत प्राप्त गरेका थिए ।

उता, एकातिर पूर्वमन्त्री समेत भैसकेका राप्रपाका प्रभावशाली नेता दिपक बोहोरा लगायतका धेरै वरिष्ठ नेताहरुले निर्वाचन लडेनन् भने अर्कोतिर राप्रपामा महत्वपूर्ण योगदान दिएका प्रकाश सुवेदी, शुरेसप्रसाद आचार्य, किरण गिरि, रबिन चाम्लिङ, धर्मराज पोख्रेल लगायतका नेताहरुले हार ब्यहोरेका छन् ।