राजनीति

सर्वदलीय बैठकमा कुन नेताले कस्तो प्रतिक्रिया दिए ? यस्ता छन् प्रतिक्रिया !

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको सर्वदलीय बैठकमा स्थानीय निर्वाचनमा जाने सम्बन्धमा सबै दलहरुले सहमति जनाएका छन् । स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा मधेसी मोर्चामा आवद्ध दलहरु लगायत १० वटा साना दलहरु भने सहभागी भएनन् ।

बैठकमा उपस्थित दलका नेताहरुले संविधान संशोधनको विषयमा भने मिश्रित प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संविधान संशोधनलाई फेल गराएरै छाड्ने अडान दोहोर्याएको छ भने अन्य केही दलहरुले समेत उसलाई साथ दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले संशोधन प्रस्तावलाई असफल बनाउने आफ्नो अडान कायम रहेको धारणा राखेका थिए । उता, सत्तारुढ दलमध्येकै अर्को घटक राप्रपाले पनि संविधान संशोधन प्रक्रियालाई अगाडी बढ्न नदिने अडान कायमै राखेको जनाइएको छ । राप्रपाका अध्यक्ष कमल थापाले संशोधन प्रक्रियालाई जसरी पनि असफल पार्ने प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री दाहालले बुधबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सहयोग गर्न सबै दलहरुलाई आग्रह गरलगत्तै एमाले र राप्रपाले आफ्नो पूरानो अडान दोहोर्याएका थिए । यद्यपि, ‘संशोधन प्रक्रिया’मा भने बाधा अड्चन नगर्ने संकेत एमालेले दिएको समेत बैठकमा सहभागी एक नेताले बताएका छन्  ।

बैठकमा नेपाली कांग्रेस र माओवादीले भने जसरी पनि संशोधन प्रस्तावलाई अघि बढाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा लगायतका साना दलहरुसँग आग्रह गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले भने एमाले अध्यक्ष केपी ओलीको अडानप्रति कडा आक्रोश पोख्नुभएको बताइएको छ । अध्यक्ष ओलीले संशोधन प्रस्तावलाई जसरी पनि असफल पार्ने संकेत दिएपछि सभापति देउवाले उनलाई तानाशाही लाद्न खोजेको ? भन्दै प्रश्न गरेको बैठकमा सहभागी एक नेताले बताए । देउवा रिसाएपछि उनलाई एमाले नेता भीम रावलले सम्झाउनुपरेको समेत बताइएको छ ।

सरकारले बुधबारको संसद बैठकमा संविधान संशोधन प्रक्रियालाई अघि बढाउने तयारी गरिरहेको छ । मंगलबारको बैठक भने सुचना टाँस गरेर स्थगित भएको थियो । उता, मधेसी मोर्चाले भने सरकारले आफ्ना मागहरुको बेवास्ता गर्दै  सरकारले स्थानीय निर्वाचनको घोषणा गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।