पु.समाचार

निर्वाचन घोषणा भएलगत्तै गृह मन्त्रालयले थाल्यो यस्तो तयारी, मोर्चाद्धारा आन्दोलन घोषणा

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ । ‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘मंगलबारदेखि नै हामी तयारीमा लाग्नेछौँ । जसरी ०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको निर्वाचन शान्तिपूर्ण गर्न हामी तयार छौँ ।’

निर्वाचनको सुरक्षा रणनीति तथा कार्यनीतिबारे थप छलफल गर्न गृहले मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसहितको सुरक्षा बैठक बोलाएको छ । मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, तत्काल एकीकृत सुरक्षा योजना बनाएर लागू गरिने गृहका अधिकारी बताउँछन् । स्थानीय निर्वाचनका लागि सुरक्षाकर्मी अपुग हुने भएकाले म्यादी प्रहरीसमेत भर्ना गर्नुपर्ने हुन्छ । यसको प्रक्रिया तत्काल सुरु गर्न लागिएको गृहले जनाएको छ ।

मधेसी मोर्चाले बहिष्कार गर्ने, आन्दोलन घोषणा
सरकारले निर्वाचन घोषणा गरेसँगै मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको छ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहँदा मोर्चाका नेताहरू पनि तमलोपा कार्यालय बिजुलीबजारमा छलफलमा बसेका थिए । बैठकले मधेस बन्दसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।
मोर्चाले १० फागुनमा मधेसमा मसाल जुलुस निकाल्ने, ११ फागुनमा मधेस बन्द गर्ने, १२ फागुनदेखि लगातार १५ दिन मधेसमा भण्डाफोर अभियान चलाउने कार्यक्रम तय गरेको सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।  थप कार्यक्रम पछि घोषणा गर्ने उनले बताए ।
‘सरकारले मुठभेड निम्त्याउन खोज्यो, हामीसँग आन्दोलनको विकल्प रहेन,’ महतोले नयाँ पत्रिकासँग भने । मोर्चाले चुनाव घोषणा भए सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए पनि सोमबार यस्तो कुनै निर्णय नभएको रामसपाका महामन्त्री केशव झाले जनाए ।