पु.समाचार

नेपालसँग भारतले राख्यो महत्वपूर्ण प्रस्ताव

काठमाडौं । भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् । उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिँदै भारतीय रेल्वे नेटवर्कलाई नेपालमा पनि जोड्ने बताएका हुन् । ‘चाँडोभन्दा चाँडो काठमाडौं–दिल्ली र काठमाडौं–कोलकाता रेल्वे लाइन बनाउनेछौँ,’ उनले बताए ।

काठमाडौंमा आइतबारदेखि सुरु भएको दुईदिने ‘नेपाल पूर्वाधार शिखर सम्मेलन २०१७’ लाई सम्बोधन गर्दै रेलमन्त्री सुरेशले रेल्वे लाइन बनाउने बताएका हुन् । ‘मेरा मित्र हरिभक्त शर्माले काठमाडौंबाट उच्च गतिको रेल चढेर दिल्ली जाने र फर्कने सपना रहेको सुनाए,’ उनले भने, ‘यो सपना केवल सपनामा मात्रै सीमित हुँदैन र चाँडै यथार्थमा परिणत गर्न सकिन्छ ।’ रेलमार्ग तुलनात्मक रूपमा स्वच्छ (ग्रिन) पूर्वाधार भएकाले नेपालले पनि यसको विकासमा जोड दिनुपर्ने उनले बताए । ‘भारतीय रेल्वे नेटवर्क नेपालको सीमासम्म पहिल्यैदेखि छ,’ उनले भने, ‘भारतले गरेको रेल्वे विकासबाट नेपालसमेत लाभान्वित हुन सक्छ ।’

सोमबारको नयाँ पत्रिकामा लेखिएको छ, भारतीय रेल्वेमन्त्री प्रभुले पूर्वाधार समग्र विकासको आधार भएको बताउँदै त्यसमा लगानी बढाउनुपर्नेमा जोड दिए । ‘नेपाल करिब २० अर्ब डलर जिडिपी भएको मुलुक हो,’ उनले भने, ‘यसर्थ, नेपालले पूर्वाधार विकासका लागि कम्तीमा २ खर्ब रुपैयाँ लगानी गर्नुपर्छ ।’ पूर्वाधारमा गरिएको लगानी आफैँले पनि आर्थिक वृद्धि गराउँछ, उनले भने, ‘नेपालले सन् २०२२ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन र २०३० मा मध्यम आय भएको राष्ट्र बन्न पनि पूर्वाधारमा लगानी बढाउनुपर्छ ।’

भारतले भुटानको जलविद्युत्मा ठूलो लगानी गरेको छ । भारतीय सहयोगमा विकास भएको भुटानको जलविद्युत्को खरिदकर्ता पनि भारत नै हो । भारत र भुटानको यही साझेदारीबाट भुटानका जनताको प्रतिव्यक्ति आय उच्च बन्न सकेको रेल्वेमन्त्री प्रभुले बताए । नेपाल र भारतले पनि यस्तै साझेदारी गर्न सक्ने उनले बताए । ‘भुटानको जलविद्युत् विकासमा भारतले सहयोग गर्योल, त्यहाँ उत्पादन भएको विद्युत् भारतले नै खरिद गर्यो, जसबाट भुटानको प्रतिव्यक्ति आय बढ्यो,’ उनले भने, ‘नेपाल र भारतबीच पूर्वाधार विकासमा यस्तै साझेदारी गर्न सकिन्छ ।’