पु.समाचार

आफ्नै कामदार युवतीले लुसुक्क गेष्ट हाउसमा बोलाएपछि…!

काठमाण्डौ । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन्। कामदार युवतीले पसल साहुलाई काठमाडौंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पुर्याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ।

सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो । आइतबारको राजधानीमा लेखिएको छ, महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो ।

अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएका थिए। सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले ‘जरुरी काम पर्यो’ भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए ।

महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक ९एसपी० प्रकाशजंग कार्कीले भने ।

एसपी कार्कीका अनुसार फिरौती लिनेमध्ये दुईजना पक्राउ परे पनि युवतीसहित अन्य दुईजना अझै फरार छन्। ‘अपहरणमा युवतीको भूमिका देखिन्छ, अवस्था के हो ? उनलाई पक्राउ गरी अनुसन्धान गरेपछि मात्रै थाहा हुनेछ,’ एसपी कार्कीले भने। प्रहरीका अनुसार अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा थुनेर राखिएको थियो। गेस्ट हाउसका कर्मचारीले ढोका खोल्दा अग्रवालको मुखमा पट्टी बाँधिएको थियो भने होटलको ढोका बाहिरबाट बन्द गरिएको थियो। अग्रवालले ढोका ढक्ढकाएपछि बल्ल होटेल कर्मचारीले ढोका खोलेका थिए ।

कर्मचारीले प्रहरीलाई दिएको जानकारी अनुसार मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा उनी भेटिएका थिए। प्रहरीका अनुसार युवतीले गेस्ट हाउसको कोठामा लगेपछि होटलमै रहेका उनका तीन पुरुष साथीले अग्रवाललाई नियन्त्रणमा लिएर पैसाको बार्गेनिङ सुरु गरेका थिए।

त्यसपछि अग्रवालले तत्काल आफ्नो साथमा रहेको ७२ हजार नगद र ८ लाख रुपैयाँको चेक थमाएपछि उनीहरू त्यहाँबाट भागेका थिए। काठमाडौंमा लामो समयपछि यस्तो अपहरण भएको हो। अग्रवालको पसलमा काम गर्ने ती महिलाको विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ।