पु.समाचार

कांग्रेसले राजदूतको नाम सिफारिस गर्न नसकेपछि…!

काठमाण्डौ । लामो समयदेखि रिक्त एक दर्जनभन्दा बढी नेपाली कूटनीतिक नियोग कार्यबाहककै भरमा चल्दा दुईपक्षीय सम्बन्ध प्रभावित भएको छ । सरकारले राजदूत नियुक्तिका लागि गृहकार्य गरे पनि नाममा टुङ्गो लगाउन नसक्दा ढिलाइ हुँदै आएको परराष्ट्र स्रोतले जनाएको छ ।

विभिन्न देशका लागि राजदूत नियुक्तिको अन्तिम तयारी गरिरहेको बताए पनि हालसम्म १३ देशमा राजदूत नियुक्तिको प्रक्रियाले मूर्तता पाउन सकेको छैन । विगत तीन वर्षदेखि विदेशस्थित केही दूतावास राजदूतविहीन छन् । राजदूत नहुँदा खाडीका देशमा रहेका नेपाली कामदारलाई धेरै समस्या भएको भन्दै संसदीय समितिले राजदूत नियुक्तिका लागि सरकारलाई निर्देशन दिएको थियो । परराष्ट्र सचिव शङ्करदास वैरागीले भने राजदूत रिक्त १३ देशमा नियुक्ति प्रक्रिया छिट्टै हुने बताए।

‘परराष्ट्रमन्त्री बेल्जियम र लक्जम्बर्गमा हुने योगा–ध्यानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएर फागुन ७ गते फर्केपछि मात्र यस विषयमा पुनः छलफल हुने सम्भावना छ’, स्रोतले भन्यो ।  शनिबारको गोरखापत्रमा लेखिएको छ, हालसम्म नेपालले २९ देशमा आवासीय दूतावास स्थापना गरेको छ । नेपाली राजदूत नभएका देशमा साउदी अरेबिया, दक्षिण कोरिया, इजरायल, बहराइन, कतार, ओमन, दुबई, जापान, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, अस्ट्रेलिया र म्यानमार छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७३ वैशाख ७ गते २२ देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.ऋषिराज अधिकारीले नेकपा (माओवादी केन्द्र) का तर्फबाट यसअघि नै सिफारिस गरेका नामलाई निरन्तरता दिने जानकारी दिँदै काँग्रेसले राजदूत सिफारिसको नाम टुङ्ग्याउनेबित्तिकै छिट्टै राजदूत नियुक्ति हुने बताए । यसअघि माओवादी केन्द्रबाट युवनाथ लम्साललाई डेनमार्क, लकी शेर्पा अस्ट्रेलिया, महेन्द्र सिंह कतार र पदम सुन्दास बहराइनका लागि सिफारिस गरिएको थियो । ६ राजदूत पाएको नेपाली काँग्रेसमा भने नामकै विषयमा खिचलो रहेको नेपाली काँग्रेस स्रोतले जनाएको छ ।

नेपालको परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्टसँग राख्न सक्ने योग्य र दक्ष व्यक्तिलाई राजदूत बनाउनुपर्ने आवाज काँग्रेस वृत्तमा उठेको स्रोतले बतायो । सकभर पुरानोलाई निरन्तरता नदिने र नयाँलाई अवसर दिनुपर्ने पक्षमा परराष्ट्रमन्त्री महत छन् । तर, पटकपटक राजनीतिक नियुक्त लिइसकेको व्यक्तिले पनि राजदूतमा मोह देखाएपछि नाममा सहमति जुटाउन कठिन परेको काँग्रेस निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भदौ १६ गते मन्त्रिपरिषद् बैठकबाट भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेल राजदूतमा नियुक्त गरिसकेको छ ।