आर्थिक

तीन अर्ब लगानी गर्ने चीनको प्रतिबद्धता

काठमाण्डौ । चिनियाँ लगानीकर्ताले नेपालमा करिब तीन अर्बको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। बेइजिङ्स्थित नेपाली दूतावासले शुक्रबार बेइजिङ्मा आयोजना गरेको ‘नेपालमा लगानीका सम्भावनाहरु’ बिषयक सेमिनारमा चिनियाँ लगानीकर्ताले नेपालमा १८.५ बिलियन युआन (लगभग तीन अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने वाचा गरेका हुन्। सेमिनारमा ६४ जना चिनियाँ लगानीकर्ता सहभागी थिए।

‘चिनियाँ लगानीकर्ताले नेपालमा लगानी गर्छु भनी देखाएको प्रतिबद्धताले हामी उत्साहित भएका छौँ,’ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले टेलिफोनमा भने।

त्यहाँस्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमा जनाएअनुशार सेमिनारमा चिनियाँ ब्यापारीले मार्च २ र ३ मा नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा सहभागी हुन इच्छुक रहेको बताए। दूतावासले विगत तीन महिनामा तेश्रो पटक लगानी सेमिनार आयोजना गरेको हो।

शनिबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, राजदूत पौड्यालले काठमाडौंमा हुन लागेको लगानी सम्मेलनबारे जानकारी गराउँदै सम्मेलनमा सहभागी भई लगानीका अवसर खोज्न चिनियाँ लगानी कर्तालाई आग्रह गरे।

नेपालका लागि पूर्व चिनियाँ राजदूत सुन हेपिङ्ले सन् २००३ देखि २००७ सम्म आफू राजदूत भएर काठमाडौं रहँदाको आफ्नो अनुभव सुनाए। उनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चिनियाँ ब्यापारीलाई आग्रह गरे। ‘नेपालले अहिले बैदेशिक लगानीमैत्री नीतिहरु ल्याएको छ’ उनले भने।