पु.समाचार

कमल थापाले दिए यस्तो प्रतिक्रिया, जसले गणतन्त्र र राजतन्त्रलाई नजिक पुर्याइदिने भो !

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापा गणतन्त्र र संघीयताप्रति नरम देखिएका छन् । राप्रपाको राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा शुक्रबार मन्तव्य राख्दै उनले सो कुराको संकेत दिएका हुन् । अध्यक्ष थापाले भने, ‘गणतन्त्रवादीहरू राजतन्त्रसँग नझस्क, राजतन्त्रवादीहरू गणतन्त्रसँग नतर्स । नेपाल गणतन्त्रमा प्रवेश गरिकसकेको छ । राप्रपाले संविधानलाई स्विकारिसकेको छ । हामीले सबैलाई चित्त बुझ्छ भने यस्तो संस्थाका रूपमा राजसंस्थालाई भनेका हौँ । नेपालका लागि साझा संस्थाका रूपमा राजसंस्था राखौँ भनेका हौँ । राष्ट्रियता, एकीकरण र सुदृढीकरणका लागि हामीले यो विषयलाई अघि बढाएका हौँ ।’

संघीयता मुलुकको यथार्थ
अध्यक्ष थापाले संघीयता अब मुलुकको यथार्थता भैसकेको बताए । उनले भने, ‘हामीले नचाहे पनि संघीयता मुलुकको यथार्थ भइसक्यो । अब हामीले पछाडि फर्काउन सक्ने अवस्था छैन । शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, संघीयता कार्यान्वयन गर्दा न्यूनतम क्षति होस्, नेपाल खण्डित नहोस्, हिमाल, पहाड र तराईको बेमेल नहोस् भन्ने हाम्रो मान्यता हो ।’
उनले स्पष्ट पार्दै भने, ‘हामीले एउटा हिन्दूधर्मलाई मात्र सुविधाको माग गरेका होइनौँ । ८१ प्रतिशत हिन्दू, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किरात गरी ९३ प्रतिशत बढी वैदिक सनातन धर्म मान्नेहरू छन् । यसर्थ हामीले हिन्दूधर्मको प्रतिष्ठा र पहिचानको कुरा गरेका हौँ ।’ संविधानलाई फरक मतसहित आलोचनात्मक समर्थन गरेको बताउँदै उनले दुईतिहाइले समर्थन गरेपछि आफुले पनि हस्ताक्षर गरेको स्पष्ट पारे । उनले स्पष्ट पार्दै भने, ‘यो हाम्रो पनि संविधान हो । संविधानमा फरक मत राख्नेहरूले अब जंगल जान पर्दैन, नाकाबन्दी गर्न नाका पुग्न पनि पर्दैन । आफ्ना चित्त नबुझेका कुरा राख्न सकिन्छ । संविधान कार्यान्वयनमा हाम्रो सकारात्मक इमानदर सहयोग रहन्छ ।’
उनले भने, ‘दुई पार्टी एक भएपछि अब भरपर्दो र विश्वासिलो दल मुलुकले प्राप्त गरेको छ । हामी राष्ट्रनिर्माणको वैकल्पिक मार्गचित्र र विचारधारा लिएर अगाडि बढ्ने पार्टीमा दरिएका छौँ ।’

देश बचाउने अभियानमा लाग्छौँ
ठूला दलले भागबन्डा गरेर देश नै बर्बाद पारेका छन् । हामी देशलाई नै बचाउने अभियानमा छौँ । अब नेतृत्व लिएर १०–१५ वर्षमै लाखौँ युवालाई स्वदेशमै रोजगार दिलाउने अभियानमा राप्रपा लाग्छ : डा. प्रकाशचन्द्र लोहनी
संकट समाधान गर्न राप्रपा
अहिले मुलुक संकटमा छ । स्थानीय, प्रान्तीय र संसदीय निर्वाचन भएनन् भने मुलुक झन् संकटमा पुग्छ । तीनवटै निर्वाचनमा राप्रपालाई मुलुकको सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ : पशुपतिशमशेर राणा
वैकल्पिक शक्तिकै लागि राप्रपा
०४६ पछि वैकल्पिक शक्तिका रूपमा राप्रपालाई खडा गरेका हौँ । अहिले फेरि देशका त्रुटि र समस्या समाधान गर्न लाग्नुपरेको छ । यसका लागि एकीकृत राप्रपा बल हुन्छ : लोकेन्द्रबहादुर चन्द