आर्थिक

उद्योगमन्त्रीद्धारा विशेष आर्थिक क्षेत्र कार्यालयको उद्घाटन

भैरहवा । भैरहवामा उद्योगमन्त्री नविन्द्रराज जोशीले विशेष आर्थिक क्षेत्र (सेज) कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमका बीच उद्योगमन्त्री जोशीले सेज कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री जोशीले सेजमा २१ वटा उद्योगले प्रस्ताव गरिसकेको र ५ अर्ब रुपैयाँ बढी लगानी हुने खुलासा गरे ।

मन्त्री जोशीले उद्योग सञ्चालनका लागि आवश्यक बिजुली तत्काल उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै सेजमा उद्योग निमार्ण गर्न उद्योगीहरुलाई आग्रह समेत गरे । सरकारले विशेष आर्थिक क्षेत्र विधेयक पारित गरेपछि उद्योगमा लगानी गर्न इच्छुक व्यक्तिले प्रस्ताव हालेको र अब उद्योगीले माग गरेअनुसारको बिजुली पनि उद्योग सञ्चालनका लागि उपलव्ध गराइने मन्त्री जोशीले प्रस्ट पारे ।

विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)का कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले उत्पादित कम्पनीको ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने २१ कम्पनीसँग सेजले सम्झौता गरिसकेको जानकारी दिए । उनका अनुसार सेजभित्र  रेडिमेड गार्मेन्ट, पीभीसी म्याट, सिमेन्ट व्लक, सिमेन्ट इलेक्ट्रोकल, फेव्रिक, रबर तथा जुत्ता, तारजन्य उत्पादन, मेडिकल हर्ब, साबुन, डिप इरिजेसन पाइप, गार्मेन्ट प्रोसेसिङ इण्डष्ट्रिज, अदुवा प्रशोधन उद्योग, मिनिरल वाटर उद्योग, विद्युतीय गाडीको एसेम्बिलिङ उद्योग र जुस सम्बन्धी उद्योग खुल्ने छन् ।

सरकारले ऐन र नियमावली तयार गरेपछि उद्योगीसँग प्रस्ताव आह्रवान गरेको थियो । त्यसमा विभिन्न कम्पनीले प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २१ वटा कम्पनी छनोट भएको भट्टले जानकारी दिए ।