पु.समाचार

माओवादी बैठकले गर्यो दुई निर्णय, निर्वाचन नभए प्रचण्डले दिए खतराको संकेत !

काठमाडौं । माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले अब बस्ने संसद् बैठकअगावै स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको छ ।

संसद् बैठकअगावै निर्वाचनको मिति घोषणा
श्रोतका अनुसार सकभर मधेसी मोर्चालाई पनि विश्वासमा लिन प्रयत्न गर्ने, तर सहमतिमा नआए निर्वाचनको मिति घोषणामा ढिलाइ नगर्ने माओवादीको निष्कर्ष छ । संसद्को बैठक १० फागुनमा बस्दै छ । ‘अब चुनावको मिति घोषणा गरेर जानुपर्छ भन्ने पार्टी हेडक्वार्टरले निष्कर्ष निकालेको छ,’ बैठकपछि नेता अग्निप्रसाद सापकोटाले भने, ‘सकभर एक–दुई दिनभित्रै, नभए पनि संसद् बैठकअगावै मिति घोषणा गरेर जाने भन्ने स्पिरिट छ ।’ प्रधानमन्त्रीले छलफलका लागि मधेसी मोर्चाका नेताहरूलाई ७ फागुनको बिहान बालुवाटारमा निम्त्याएका छन् ।

संविधान संशोधन पनि प्रक्रियामा लैजाने
शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, सरकारले १४ मंसिरमा संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक संसद्मा थन्किएको छ । एमालेलगायत दलहरूको विरोधका कारण विधेयक संसद्को पूर्ण बैठकमा प्रस्तुत मात्र भएको छ । अन्य प्रक्रिया अगाडि बढ्न सकेको छैन । निर्वाचनको मिति घोषणा गरेपछि संशोधन विधेयकलाई पनि संसद्मा निर्णयार्थ अगाडि बढाउने माओवादी केन्द्रले निर्णय गरेको छ ।

प्रधानमन्त्रीले बैठकमा भने निर्वाचन नभए प्रतिगमन निम्तन्छ
हामी अहिले अत्यन्त जटिल परिस्थितिमा छौँ । ०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन नगर्ने हो भने संवैधानिक जटिलता हुन्छ । हामीले निर्वाचन गराएनौँ भने मुलुक फेरि प्रतिगमनतिर जाने खतरा बढेको छ । निर्वाचन के, कसरी र कहिले गर्ने रु कुन गर्ने भन्ने प्रस्ट हुनैपर्छ ।

अब बस्ने संसद् बैठकअगाडि नै निर्वाचन मिति घोषणा गरेर जानुपर्ने अवस्थामा हामी छौँ । कुनै पनि सर्तमा स्थानीय तहको निर्वाचन गर्नैपर्छ । अब पार्टीलाई सम्पूर्ण रूपमा निर्वाचनमा लैजानुपर्छ । निर्वाचनमा जाने अवस्थामा संशोधनमा पनि एमालेले लचकता प्रदर्शन गर्ने संकेत दिएको छ । निर्वाचन हुने भएपछि उसले पनि संशोधनमा साथ दिनेछ । दिएन भने मधेसमा एमालेलाई नै अप्ठ्यारो पर्ने देखिन्छ । यसैले पनि अब निर्वाचनको तयारीमा जानुपर्छ ।