पु.समाचार

त्रिवि शिक्षण अस्पतालका शव गनाउन थालेपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया !

काठमाडौं । सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा शिक्षण अस्पताल (टिचिङ) परिसरमा दुर्गन्ध फैलिएको छ । शवको व्यवस्थापन गर्न राज्यले पर्याप्त जग्गा उपलब्ध नगराएको र फरेन्सिक मेडिसिन विभागसँग शव गाड्ने उचित स्थान नभएकाले शव कुहिएर दुर्गन्ध फैलिएको हो । दिउँसो घाम लागेको समयमा शवको दुर्गन्धले उपचारका लागि आएका बिरामी र तिनका कुरुवामा असर पुगेको फरेन्सिक मेडिसिन विभागका प्रा.डा. हरिहर वस्तीले जानकारी दिए । उनले अस्पतालमा मृत्यु भएका बिरामीको शवको व्यवस्थापन गर्ने निश्चित ठाउँ नभएका कारण पछिल्लो समय समस्या बढ्दै गएको छ ।

‘विगतमा सनाखत नभएका शवको संख्या कम हुन्थे, विभागले जसोतसो व्यवस्थापन गर्दै आएको थियो । तर, पछिल्लो समय शवहरूको संख्या बढ्दै जान थाल्यो, जसले गर्दा शव गाड्ने ठाउँ अपुग हुन पुग्यो । यसैले दुर्गन्ध फैलिएको हो,’ वस्तीले नयाँ पत्रिकासँग भने । गर्मी समय सुरु नहुँदै विभाग वरपर फैलिएको दुर्गन्धले महामारीको रूप लिन सक्ने उनको भनाइ छ । ‘हामीले शवको व्यवस्थापन गर्न कठिनाइ भएको कुरा पटकपटक स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँदै आएका छौँ, जनतासँग प्रत्यक्ष जोडिएको विषयमा मन्त्रालय मौन बस्नु चिन्ताको विषय बनेको छ,’ उनले भने । एकै ठाउँमा वर्षौँदेखि शव निरन्तर गाडिरहनु र शव राख्ने फ्रिजरले काम नगरेकाले शव कुहिएर वातावरण नै दुर्गन्धित भएको उनले बताए ।

शव राख्ने फ्रिजर नै छैन
शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, शवलाई चिसो बनाएर राख्ने फ्रिजरको अभावका कारण फरेन्सिक मेडिसिन विभागलाई दैनिक काम गर्न कठिनाइ भएको छ । कम्तीमा पनि हरेक दिन १० वटा शव राख्नुपर्ने भएपछि ती शवको व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए । विभागसँग भएका वर्षौँ पुराना फ्रिजरहरू पनि काम नलाग्ने अवस्थामा छन् । राज्यलाई फरेन्सिक मेडिसिन विभाग भए–नभएकोबारे जानकारी नहुँदा ३०औँ वर्ष पुराना फ्रिजरबाट काम चलाइरहेको वस्तीले बताए ।
उपकरण बनाउने पैसा नहुँदा समस्या स् स्थापना भएयता राज्यले फरेन्सिक मेडिसिन विभाग व्यवस्थापनका लागि बजेट नै छुट्याएको छैन । उनका अनुसार राज्यले फरेन्सिक विभागलाई बेवास्ता गर्दा बिग्रिएका उपकरण मर्मत तथा खरिदमा समेत समस्या भएको छ ।

स्वास्थ्य मन्त्रालय अझै बेखबर

२६ चैत ०५६ को मन्त्रिपरिषद्को निर्णयअनुसार वीर अस्पतालमा हुँदै आएको पोस्टमार्टम अर्को व्यवस्था नहुँदासम्म भनी महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागमा सारिएको थियो । तर, विभागबारे तालुकवाला स्वास्थ्य मन्त्रालय नै बेखबर छ । वस्तीका अनुसार स्वास्थ्यमन्त्री गगन थापाले आफू गम्भीर भएर त्यसको व्यवस्थापनमा लाग्ने बताए पनि अहिलेसम्म कुनै सहयोग भएको छैन । स्वास्थ्यमन्त्री थापाले भने विभागबारे आफूले एक चरण छलफल गरिसकेको जानकारी दिए । ‘म गम्भीर छु, त्यसलाई आवश्यक जाँचबुझ र व्यवस्थापन गर्न आजैबाट लाग्नेछु । केही समय व्यस्त भएका कारण समय दिन नसकेकै हो,’ मन्त्री थापाले भने ।