राजनीति

पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्यको शालिक निर्माणमै देखियो लफडा ! कांग्रेसले अब के जवाफ देला ?

सुर्यखबर सम्बाद्दाता–
काठमाण्डौ । कुनैबेला नेपाली कांग्रेसभित्र मात्र होइन नेपाल र अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित नेतृको रुपमा स्थापित थिइन् स्वर्गीय शैलाजा आचार्य । नेपाली कांग्रेसलाई कुशल नेतृत्व दिएका वीपी र गिरिजाप्रसाद कोइरालाकी भान्जी समेत रहेकी स्व.आचार्यको मृत्युपछि उनको कति सम्मान भयो भएन त्यो समीक्षाकै विषय हो । देश, जनता र पार्टीमार्फत मानवजातिका लागि उनले कति योगदान दिइन्, त्यो त नेपाली जनताले प्रत्यक्ष देखेको कुरा हो । यसमा करोडौ नेपालीहरु साक्षीनै छन् । तर देहान्त भएपछि कुनैपनि राजनीतिक नेता–नेतृहरुको कतिसम्म अपमान हुँदो रहेछ भन्ने प्रमाण सुर्यखबर डट कमले फेला पारेको छ ।

केही वर्षअघि देहान्त भएकी नेतृ शैलजा आचार्यको सम्मान गर्ने भन्दै नेपाली कांग्रेसभित्रकै शैलजा स्मृति प्रतिष्ठानले उनको शालिक निर्माण गर्ने निर्णय गर्यो । शालिक निर्माणका लागि नेपाली कांग्रेसकै केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई जिम्मा दिइएको थियो । तर निकै वर्ष वितिसक्दा समेत निर्माण भइसकेको स्व.आचार्यको शालिक अहिलेसम्म कसैले लगेका छैनन, शालिक निर्माण गर्ने मूर्तिकार भीष्म प्रसाद बरालले जानकारी दिए । ‘शालिक निर्माण भैसकेको छ, तर अनुहार नमिलेको भन्दै निर्माण गर्न दिने अम्बिका बस्नेतहरु आएका छैनन्’ बरालले जानकारी दिए । करिब दुई वर्षअघि ललितपुरको लगनखेलमा निर्माण गर्न दिएको सो शालिक निर्माणका लागि १ लाख रुपैयाँ पेश्की दिइसकेको बताइएको छ ।

२ लाख रुपैयाँमा निर्माण गर्न लगाइएको उक्त शालिक निर्माण भइसकेपनि निकै लामो समयसम्म किचकिच गरेर शालिकनै लिन नआएको बरालले जानकारी दिए । पोखरामा राख्न निर्माण गरिएको भनिएको सो सालिक निर्माण गरेको पैसा पूर्वसचिव तथा तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाका सल्लाहकार बाबुराम आचार्यले समेत दिने बचन दिएको तर अहिलेसम्म कोही लिन नआएको बरालले जानकारी दिए ।

उता, शैलाजा स्मृति प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी अम्बिका बस्नेतले भने शालिकको बनावट नमिलेकोले ल्याउन ढिला भएको जानकारी दिएकी छन् । ‘हामीले शालिक निर्माण गर्न दिएको सत्य कुरा हो, तर शैलाजाको जस्तो अनुहार नआएकोले त्यसलाई मिलाएर निर्माण गर्नुस् अनि हामी लिएर जान्छौ भनेका छौ,’ बस्नेतले स्पष्ट पारिन् । शालिक निर्माण गर्नेसँग कुनै खट्पट् नभएको समेत बस्नेतले स्पष्ट पारिन् । तर निर्माणकर्ता बरालले भने शालिक निर्माण गरिसकिएको तर निकै समय भैसक्दा समेत अनुहार नमिलेको भन्ने आरोप लगाउँदै वास्ता नगरिएको र लैजान आग्रह गर्दा समेत झर्कने गरेको बताए ।

स्वर्गीय आचार्य नेपालकै सबैभन्दा पहिलोपटक उच्च राजनीतिक तहमा पुग्ने पहिलो महिलामा समेत पर्छिन् । उनी २०५४ सालमा पहिलोपटक उपप्रधानमन्त्री भएकी थिइन् । वि.संं.२००१ सालमा जन्मिएकी नेतृ स्व.आचार्यको देहान्त २०६६ साल जेठ २९ गते भएको थियो ।