खेलकुद

सोमबारदेखि यु–१८ टेनिस च्याम्पियनसिप सर्किट–२ सुरु

काठमाण्डौ । सोमबारदेखि नेपाल आइटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिप अन्तर्गत सर्किट– २ सुरु भएको छ । उद्घाटनकै दिन महिला एकलमा नेपालकी मायांका राना, माहिका राना र प्रेरणा कोइरालाले पहिलो चरण पार गर्न सफल भएका छन् । पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य दोस्रो चरणमा पुगेका छन् ।

पहिलो चरणको खेलमा माहिकाले भारतकी मिसा सुदलाई सोझो सेटमा ६–३, ६–४ पराजित गरेकी छन् भने मायांकाले भारतकी अनिका कनानलाई ६–३, ६–१ र प्रेरणाले भारतकी जाई जीवनलाई ६–१, ६–२ ले विदा गरेकी थिइन् ।

नेपालकी विभुति कार्की भने शीर्ष वरियताप्राप्त खेलाडी वैदेही चौधरीसँग नराम्ररी पराजित भएकी छन् । उनी ६–०, ६–१ ले पराजित भएकी हुन् । यसैगरी, विजिशा श्रेष्ठ पनि भारतकी माल्भिका सुक्लासँग ६–२, ६–३ ले पराजित भएकी छन् ।

पुरुष एकलमा संरक्षकले भारतका प्रत्युष मोहन्तीलाई ७–५, ६–२ ले निराश बनाए । अन्य खेलमा भारतका जैसभिन सिदानाले नेपालका प्रणव खनाललाई ४–६, ६–३, ६–१ पराजित गरे भने शीर्ष वरियताप्राप्त मृत्युञ्जय बडौलाले नेपालका साम्राज्ञ कटुवाललाई ६–०, ६–० पराजित गरे । दोस्रो वरियताप्राप्त भारतका कबीर मनराईले नेपालका सौरभराज पाण्डेलाई ६–०, ६–० र अथर्व शर्माले नेपालका अभिनव आचार्यलाई ६–१, ६–० ले पाखा लगाएका छन् ।