पु.समाचार

पूर्वरानी कोमलको जन्मोत्सव मनाउन यस्तो तयारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह केही हप्ताको लागि सिमरा जाने हुनुभएको छ । पत्नी कोमलको चितवनको कसरामा आयोजना हुने जन्मोत्सव समारोहमा सरिक हुन उहाँ सिमरा हुदै चितवन जान लाग्नुभएको छ ।

फागुन ५ गते बिहान ज्ञानेद्र र कोमल हवाइमार्ग हुँदै सिमरा जाने कार्यक्रम छ । उहाँले चितवन जाँदा सडक मार्ग प्रयोग गर्नुहुने भएको छ । फागुन ६ गते हिमानी, छोरा हृदयेन्द्र छोरीहरु पूर्णिमा र किर्तिका, धिरेन्द्रका तीन छोरी, अन्य आफन्तसहित दुई दर्जन पूर्वराजाका सदस्य चितवन जाने तय भएको निर्मल निवास स्रोतले बताएको छ ।

मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, आमाको जन्मोत्सव मनाउन पारस शाह भने चितवन जाने वा नजाने भन्ने विषयमा कुनै निर्णय भएको छैन । सुनाकोठीमा एक्लै बस्दै आउनुभएका पारस अधिकांस पारिवारिक जमघटमा सहभागी हुने गर्नुभएको छैन ।

प्रजातन्त्र दिवसको दिन, फागुन ७ गते कोमलको जन्मोत्सव मनाएपछि ज्ञानेन्द्र र कोमल पुन सिमरा फर्कने कार्यक्रम छ भने, अन्य सदस्य काठमाडौं आउनेछन् ।