राजनीति

आइजीपी नियुक्तिमा लफडा भैरहेका बेला प्रधानमन्त्री पुत्रले गरे एकाबिहानै यस्तो टिप्प्णी !

काठमाण्डौ । केही दिन अघिदेखि नेपाल प्रहरीको महानिरीक्षक पदमा कसलाई ल्याउने भन्ने विषयमा चर्को बहस र विवाद भयो । सरकार गठबन्धनमा रहेका पार्टीहरुले समेत आ–आफ्नो पक्षका भन्दै डिआइजीहरु नवराज सिलवाल र जयबहादुर चन्दलाई काखी च्याप्ने काम भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले डिआइजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउनुपर्नेमा जोड दिए भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिआइजी जयबहादुर चन्दलाई प्रमुख बनाउन दबाब दिएका कुराहरु बाहिर आए । यद्यपि, सभापति देउवाले आफुले कुनै दबाब नदिएको आइतबार एक विज्ञप्ति जारी गरेर खण्डन गरिसकेका छन् ।
आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी प्रमुखमा तेश्रो बरियताक्रममा रहेका डिआइजी चन्दलाई नियुक्त गरेको घोषणा गर्यो । मन्त्रिपरिषदले नियुक्त गरेको केही घण्टाभित्रै सर्वोच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न आदेश दिइसकेको छ ।  मन्त्रिपरिषदले गरेको यो प्रक्रिया अब कहाँ पुग्छ त्यो भने निश्चित भएको छैन् ।

यही सिलसिलामा सोमबार एकाबिहानै प्रधानमन्त्री दाहालका छोरा प्रकाश दाहालले प्रहरी संगठन र त्यहाँ हुने राजनीतिक हस्तक्षेपका बारेमा टिप्प्णी गर्न भ्याएका छन् । आफ्नो फेसबुक अकाउन्टमा निवर्तमान प्रहरी प्रमुखहरुसँगै खिचिएको तस्वीर अपलोड गर्दै उनले सुरक्षा निकाय कुनै पार्टीको भातृसंगठन नभएको र यो सवालमा सबै राजनीतिक दलहरु सचेत र जिम्मेवारी हुनुपर्ने कुराको पाठ सिकाउन खोजेका छन् । निवर्तमान प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राई (सशस्त्रका निर्वतनमान प्रमुख) सँग कुम जोडेर तस्वीर खिचाउँदै उनले निवर्तमान प्रहरी प्रमुखहरुलाई बाँकी जीवनको शुभकामना समेत दिएका छन् । दलका शीर्ष नेताहरुले आ–आफ्नै स्वार्थमा सुरक्षा निकायहरुमा हात हाल्ने गरेतापनि आफ्ना आफन्त र नातेदारहरुले उनीहरुले चालेका कदमको प्रतिरक्षा गर्न यसरी सामाजिक सञ्जालहरुलाई प्रयोग गर्ने गरेका छन् । जसलाई प्रकाश दाहालले चित्रित गरिदिएका छन् ।

राजनीतिक रुपमा सचेत सर्वसाधारणलाई यो पनि थाहा छकि प्रहरी संगठनभित्रको कुर्सी तानातानको पछिल्लो खेलमा प्रधानमन्त्री दाहाल र सभापति देउवाको उत्तिक्कै भूमिका छ तर पुत्र प्रकाश दाहालले आफ्ना पिता राजनीतिक चरित्रलाई जोगाउने नियतका साथ सुरक्षा निकायभित्र कुनै राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने अति चल्याँख्याइपूर्ण टिप्पणी गर्न खोजेका छन् । यस्ता खालका टिप्पणीले भोलीका दिनमा फेरि पनि यही राजनतिक चरित्रलाई निरन्तरता दिनुपर्छ भन्ने संकेत गर्छ, जसले सुरक्षा संयन्त्रलाई समेत धरासायी बनाउँदै लैजाने जानकारहरु बताउँछन् ।

यस्तो छ प्रधानमन्त्री पुत्रले लेखेको फेसबुक स्टाटस्ः
सफल नेपाल प्रहरी प्रमुख र सशत्र प्रहरी प्रमुख । वहांहरु बिदाई भेटसहित बिदा हुनु भयो । सुरक्षा निकाय कुनै पार्टीको भातृ संगठन हैन । यो कुरामा सबै राजनितिक दल सचेत र जिम्मेवारी हुनु पर्छ । कार्यसफलता सहित बिदा हुंदै हुनु हुन्छ । वहांहरुको बाकी जिवनपनि राष्ट्र सेवामै बितोस् हार्दिक शुभकामना।