खेलकुद

नेपाल पुलिस च्याम्पियन

काठमाडौं । प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको फाइटमा नेपाल च्याम्पियन भएको छ । आइतबार सम्पन्न प्रतियोगिताको सिनियरतर्फ नेपाल पुलिस क्लबले ३ स्वर्ण, ४ रजत र २ काँस्य जितेर च्याम्पियन भैरहँदा नेपालकै यति तेक्वान्दो डोजाङ २ स्वर्णका साथ दोस्रो भएको छ ।

१ स्वर्ण, ३ रजत र २ कास्य जितेको भुटानले तेस्रो स्थानमा चित्त बुझायो । क्याडेटतर्फ पनि नेपालकै आयोजक युनाईटेड तेक्वान्दो डोजाङले ५ स्वर्ण र दुई कास्य हात पार्दै च्याम्पियन भयो । भारतले ३ स्वर्ण र ५ रजतका साथ दोस्रो तथा नेपालको सितापाइला तेक्वान्दो डोजाङ तीन स्वर्ण र २ रजत जित्दै तेस्रो हुन सफल भयो ।

त्यस्तै, जुनियरतर्फ भने ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेको भारत च्याम्पियन भयो । नेपालको सितापाइला डोजाङले ३ स्वर्ण,२ रजत र ३ कास्य जित्दै दोस्रो तथा २ स्वर्ण ,२ रजत र ६ कास्य जितेको कोटेश्वर तेक्वान्दो डोजाङ तेस्रो हुन सफल भयो ।

प्रतियोगिताका पुरुषमा नेपालको कोटेश्वर तेक्वान्दो डोजाङका उज्वल गुरागाइँ र महिलामा इन्डोनेसिका डिना मरिसिया उत्कृष्ट खेलाडी चुनिएको आयोजक समितिका सदस्य कुमार लामा घिसिङले बताए । उज्वलले ७४ केजी तौल र डिनाले ४६ केजी तौलमा स्वर्ण पदक हात पारेका थिए ।

अन्तिम दिन पुरुष सिनियर फाइटतर्फ ६३ केजीमा नेपालका विनोद बस्नेतले स्वर्ण,नेपालकै टिकाराम रानामगरले रजत, स्युचाटारका छिरिङ र काठमाडौँका मनमोहन भटृराईले कास्य, ७४ केजीमा कोटेश्वरका उज्वल गुरागाइँले स्वर्ण, न्युरक्षाका राजकुमार माझीले रजत, नेपालका केस थापा र भारतका सुमित पटेलले कास्य तथा ८० केजीमा बंगलादेशका मोहम्मद खानले स्वर्ण, नेपालका धर्मराजले रजत, नेपाल पुलिसका दिनेश हमाल र कोटेश्वरका भुपेन श्रेष्ठले कास्य पदक हात पारे ।

पुरुषकै ८७ केजीमा नेपालका उद्धव थापाले स्वर्ण, न्युरक्षाका श्यामकुमार माझी, धनगढीका लोक बुढा र भारतका मोहित राजपुतले कास्य पदक हात पारेको प्रतियोगिताका सदस्य कविराज नेगी लामाले बताएका छन् ।

प्रतियोगितामा नेपालको सितापाइला डोजाङका प्रशिक्षक प्रनिश गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिएको प्रतियोगिता संयोजक नोर्बु लामाले बताए । प्रतियोगिताका विजेता खेलाडीलाई जेशिस स्कुलका प्रिन्सिपल सरोज महर्जन,संयोजक नोर्बु लामा,केन्द्रियसदस्य बद्धि घिमिरे र पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर लगायतले पुरस्कृत गरे । प्रतियोगितामा ९ राष्ट्रका ९ सय खेलाडीले कुल ३ सय १२ पदकका प्रतिस्पर्धा गरेका थिए । पुम्सेतर्फ ३८ स्वर्ण र फाइट (क्योरुगी)तर्फ कुल ४० स्वर्णका पदकका लागि प्रतिस्पर्धा भएको थियो ।