आर्थिक

बैंक र सुचचाँदी व्यवसायका लागि ‘फाइनान्स टास्क फोर्स’

रत्ननगर । चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । सोमबारदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले यस्तो निर्णय गरेको थियो ।

यसअघि सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए । ‘आजबाट चौबिसैँ घन्टा, हातहतियार र सञ्चार सेटसहित क्युआरटी टोली र फाइनान्स टास्कफोर्स परिचालन भएका छन्, चितवनका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले भने, ‘आवश्यकता अनुसार मोबाइल टोली समेत खटाइएको छ ।’

नारायणगढमा यही माघ २० गते राति आधुनिक सुनचाँदी पसलबाट चार किलो सुन र चार किलो ५०० ग्राम चाँदीसहित नगद रु सात लाख चोरी भएको थियो ।

त्यसैगरी शुक्रबार राति अनुग्रह गहना सप्लायर्सबाट करिब रु आठ लाख बराबरको सुनको जलप गरिएका गहना चोरी भएको थियो । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य गरी मध्य क्षेत्रकै व्यापारिक बजार नारायणगढमा सुनचाँदी व्यवसाय र बैंक तथा वित्तीय संस्था केन्द्रित छन् ।

सुरक्षा कमजोर भएर चोरीका घटना बढेको भन्दै सुनचाँदी व्यवसायीले चितवन प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए । रासस