पु.समाचार

मधेस र पहाडबीच द्धन्द्ध फैलाउनेहरुप्रति देउवाको कडा आपत्ति

पालुङ्टार । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक सङ्कट टार्नका लागि आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराइसक्ने बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नं २ गोरखाले शनिबार पालुङ्टारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘नेपाल अत्यन्त महत्वपूर्ण मोडमा उभिएको छ ।

संविधान हामीले बनायौँ तर यसको कार्यान्वयन हुन पाएको छैन । माघ ७ भित्र तीनवटा चुनाव भइसक्नुपर्छ । चुनाव भएमात्रै संविधानको पूरापूर कार्यान्वयन हुन्छ ।’ आफ्नो पार्टी स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन छिटो गर्नुपर्ने पक्षमा रहेको देउवाले बताए ।

संविधानमा उल्लेख भएअनुसार समयभित्रै निर्वाचन गरेर काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने उनको भनाइ छ । पहाड र मधेसबीच गहिरो खाडल सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उनले संविधान संशोधन पारित भएपछि मधेस र पहाडबीचको झगडा सदाका लागि अन्त्य हुने ठोकुवा गरे ।

हिमाली, पहाडी र मधेसी मिलेर नेपाललाई बलियो, समृद्ध बनाउनुपर्नेमा देउवाले जोड दिए । काँग्रेस, माओवादी केन्द्रको संयुक्त सरकारले निर्वाचन गराएरै छाड्ने उनको भनाइ थियो ।

साथै, गोरखा, धादिङ सीमामा बगिरहेको बूढीगण्डकी नदीमा एकहजार २०० मेगावाट क्षमताको बन्ने भनिएको बूढीगण्डकी जलविद्युत् डुबान क्षेत्रका बासिन्दालाई उचित मुआब्जा वितरण गर्न, अनुदान रकम पाउनबाट छुटेका भूकम्पपीडितलाई निजी आवास निर्माणमा सहयोग गर्न र पुनःनिर्माणमा सघाउन काँग्रेसले पहल गर्ने देउवाले बताए ।