राजनीति

ओलीसँग भेट भएलगत्तै प्रचण्डको बाबुरामसँग गम्भीर वार्ता, यसकारण भारत गएका रहेछन् नारायणकाजी !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेट भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको श्रोतले बताएको छ । एक घण्टाभन्दा बढी समय भएको भेटवार्ता निकै महत्वपूर्ण भएको प्रधानमन्त्री निजी सचिवालयले बताएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँग समेत प्रधानमन्त्री दाहालले भेटवार्ता गरेका थिए ।

माओवादी नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा भएको सो भेटमा तत्काल स्थानीय निकायको निर्वाचन गराउने विषयमा गम्भीर वार्ता भएको थियो । सो छलफल लगत्तै माओवादी नेता श्रेष्ठ भारत गएका छन् । नेता श्रेष्ठको भारत भ्रमणलाई पनि निकै अर्थपूर्ण रुपमा हेरिएको छ । श्रोतका अनुसार नेता श्रेष्ठले भारतमा प्रचण्ड नेतृत्वको सरकारको आयू लम्ब्याउन भारतीय नेताहरुसँग बार्गेनिङ गर्ने जनाइएको छ ।

एमाले अध्यक्ष ओलीसँग गम्भीर वार्ता भएको भोलिपल्टै भारतले पत्याएका नेता भट्टराईसँग भेटवार्ता भएको हो । जानकारहरुका अनुसार प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीसँग गम्भीर छलफल गरेलगत्तै नेता श्रेष्ठ भारत जानु र लगत्तै बाबुराम लगायतका नेताहरुसँग गोप्य वार्ता गरिनुले निकै सत्ता समीकरणमा समेत निकै ठूलो अर्थ र शंका उत्पन्न गराएको छ ।

यता, कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रहरी महानिरीक्षक नियुक्ति गर्ने सवालमा निकै चर्काचर्की परिरहेको बेला प्रधानमन्त्री दाहालले ओलीसँगको सम्बन्धलाई अघि बढाउने संकेत दिएका छन् । यो बीचमा कांग्रेस सभापति देउवाले कस्तो कदम चाल्छन् त्यसैमा अबको सरकार गठबन्धनको भविष्य रहने एकथरी विश्लेषकहरुको भनाई छ ।