राजनीति

राष्ट्रपतिले आफ्नो निकै प्रशंसा गरेपछि, महन्थ ठाकुरले दिए यस्तो जवाफ !

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका लागि सरकार र दलहरूलाई दबाब दिएकी छिन् । उनले चार दिनयता प्रधानमन्त्री, प्रमुख दलका नेता, मधेसी दलका नेता, कानुनविद् र प्रमुख निर्वाचन आयुक्तलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर लगातार छलफल गरिरहेकी छिन् ।

यस्ता छन्  राष्ट्रपतिका दुई जिज्ञासा

१.चुनावको मिति किन घोषणा भएन ?
संविधान कार्यान्वयन नहुँदा आगामी ७ माघपछि आउन सक्ने संवैधानिक संकटप्रति सचेत र गम्भीर हुँदै राष्ट्रपतिले सबैसँग उस्तैखाले जिज्ञासा राखेकी छिन् । ‘स्थानीय, प्रदेश र संघीय संसद् तीनै तहको निर्वाचन मिति यतिवेलासम्म निश्चित भइसक्नुपथ्र्यो, तर निर्वाचन आयोगले निर्वाचन गर्छु भनेर मिति मागिरहँदा पनि किन घोषणा हुन सकिरहेको छैन रु’ प्रधानमन्त्रीसहित सबै दलका नेताहरूसँग राष्ट्रपतिको समान जिज्ञासा उद्धृत गर्दै स्रोतले भन्यो ।

२. चुनाव हुन सकेन भने के हुन्छ ?
राष्ट्रपतिले सबै भेटमा संवैधानिक व्यवस्था अनुसारको समयसीमाभित्र चुनाव हुन सकेन भने के हुन्छ भन्ने जिज्ञासा राखेकी थिइन् । ‘सरकारले चुनाव गराउने भने पनि मिति टुंगो नलागेको स्थितिमा विश्वस्त हुने आधार तयार नभएकाले आगामी ७ माघपछि संसद्को समेत आयु समाप्त भयो भने त्यसपछि संवैधानिक रिक्तताको स्थिति आए के हुन्छ ?’ राष्ट्रपतिको जिज्ञासा उद्धृत गर्दै भेटमा संलग्न एक नेताले जानकारी दिए ।

चार पक्ष मिलेर निकास खोज्न सुझाब

शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, राष्ट्रपति भण्डारीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता ठूला उपलब्धि चार राजनीतिक पक्ष मिलेका कारण सम्भव भएको भन्दै जिम्मेवारपूर्वक एकै ठाउँ बसेर निकास खोज्न सुझाब दिएकी छिन् । ‘तपाईंहरू चारै पक्ष–कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चासँगै बसेर निकास खोज्नुस् । मैले प्रधानमन्त्रीजी र अरूलाई पनि यही भनिरहेकी छु । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा चारै पक्षको महत्वपूर्ण योगदान रहेकाले यो उपलब्धि जोगाउन निर्वाचनमार्फत संविधान कार्यान्वयन गर्ने दायित्व पनि तपाईंहरूकै हो,’ मोर्चाका नेताहरूसँग राष्ट्रपतिको भनाइ थियो, ‘तपाईंहरू एकै ठाउँ बसेर छिटो निकास दिने काम गर्नुस्, उपलब्धि जोगाउनुस् ।’

राष्ट्रपतिद्वारा महन्थको प्रशंसा, मभन्दा पनि तपाईं धेरै सिनियर लिडर
महन्थजी तपाईं धेरै अनुभवी र मभन्दा पनि धेरै ‘सिनियर लिडर’ हुनुहुन्थ्यो, हुनुहुन्छ । त्यसैले मैले तपाईंलाई सधैँभरि सम्मान गर्दै आएकी छु । नेपालको राजनीतिक परिवर्तनको हरेक आन्दोलनमा तपाईंको धेरै महत्वपूर्ण योगदान छ, अहिलेको यो जटिल परिस्थितिमा पनि निकास खोज्न भूमिका खेल्नुस् ।

महन्थले भने–मधेसका जनतासामु खाली हात कसरी मुख देखाउनु ?
मधेस आन्दोलनमा धेरैले ज्यान गुमाए, पिटाइ खाए, जेल–नेल र हन्डर खाए, कति त अपांग भए । यस्तो अवस्थामा खाली हात निर्वाचनमा जाऊँ भन्दा जनतालाई के जवाफ दिनु ? अहिले पहाड र तराई दुवैतिर अतिवादीहरू अगाडि आएका छन् । त्यसले जटिलता नजन्माओस् भन्नेतर्फ मुख्य राजनीतिक शक्ति बढी जिम्मेवार हुनुपर्छ । संविधान संशोधन गर्ने गरी तीनबुँदे सम्झौता गरेकाले हामीले अहिलेको सरकारलाई समर्थन गर्यौ । तर, संशोधनमा छलफल हुन सकेको छैन । हामीले अड्काएको होइन, एमालेसँग पनि वार्ता गर्न तयार छौँ, सरकारको प्रस्ताव भएकाले उसलाई मनाउने मुख्य जिम्मेवारी त सरकारको हो नि।