पु.समाचार

राष्ट्रपतिले राखिन् चासो !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका लागि सरकार र दलहरूलाई दबाब दिएकी छिन् । उनले चार दिनयता प्रधानमन्त्री, प्रमुख दलका नेता, मधेसी दलका नेता, कानुनविद् र प्रमुख निर्वाचन आयुक्तलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर लगातार छलफल गरिरहेकी छिन् । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन र निर्वाचनको मुद्दामा साझा निष्कर्ष र सहमतिका साथ अघि बढ्न सजग गराएकी छिन् । उनको यो सक्रियता केही दिन जारी रहनसक्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लले संविधान कार्यान्वयन हुन नसकेर देशको राजनीति जटिल मोडतिर नजाओस् भन्नेमा सजगता अपनाउँदै राष्ट्रपतिले आफूहरूसँग गम्भीरतापूर्वक परामर्श गरेको जानकारी दिए । ‘देश जटिल दिशामा नजाओस् भनेर राष्ट्रपतिज्यू सचेत र सक्रिय हुनु सकारात्मक कुरा हो,’ शुक्लले भने ।

एक दर्जनभन्दा बढी संघ संस्था र व्यक्तिसँग परामर्श
राष्ट्रपति विद्या भण्डारीले मंगलबारबाट प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । उनले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग परामर्श गरेकी थिइन् । बुधबारै उनले नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीसहित केही वरिष्ठ अधिवक्ताहरूसँग निर्वाचन नभए उत्पन्न हुनसक्ने जटिलताबारे संवैधानिक र कानुनी परामर्श गरेकी थिइन् ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुर र नेता सर्वेन्द्रनाथ शुक्लसँग पनि राष्ट्रपतिले बिहीबार परामर्श गरिन् । त्यसलगत्तै प्रमुख तीन दलका दोस्रो तहका नेताहरू भीमबहादुर रावल, कृष्णप्रसाद सिटौला र नारायणकाजी श्रेष्ठसँग परामर्श गरिन् ।

‘समसामयिक राजनीतिक विषयमा परामर्श गर्ने शृंखलाअन्तर्गत बिहीबार नेताहरूसँग छलफल भएको हो,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘चार दिनदेखिको यो शृंखला अझै केही दिन जारी रहन सक्छ ।’ दोस्रो तहका नेताहरूलाई राष्ट्रपतिले चारवटै राजनीतिक शक्ति एकै ठाउँ उभिने गरी मिलनबिन्दु खोज्ने प्रयासमा सक्रियता देखाउन ध्यानाकर्षण गराएकी छिन् ।