अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघद्धारा कडा निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलमा रहेको सर्वोच्च अदालतको अगाडि भएको आक्रमणको निन्दा गरेको छ । उक्त बम आक्रमणमा परी कम्तीमा २१ जनाको ज्यान गएको छ । त्यसमा परी ४० जना सख्त घाइते भएका छन् । मङ्गलबार बिहानै सो हमला भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको १५ सदस्यीय उक्त परिषद्ले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । उक्त परिषद्ले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो मानवीय अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

सो आक्रमण अलकायदाले गरेको हो । उक्त आतङ्ककारी संस्थाले सो हमलाको जिम्मेवारी पनि लिएको छ । उक्त हमला सो अदालतमा गरिएको यो तीन वर्षयता तेस्रो पटक हो ।

यसअघि पनि तालिवानले अफगानिस्तानको सर्वोच्च अदालतमा हमला गरेका थिए । मङ्गलबार पनि ती हमलाकारीले सर्वोच्च अदालतको परिसरमा नै उनीलाई लक्ष्यगरेर हमला गरेका थिए ।

सुरक्षा परिषद्को मङ्गलबार बसेको बैठकले सो हमलाप्रति दुःख व्यक्त गर्दै त्यसमा परेका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि पनि व्यक्त गर्नुका साथै आफन्त र परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

अफगानिस्तानमा हुने यस्ता मानवता विरोधी हमलाका मुख्य दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र कारबाही गर्न पनि सो परिषद्ले आग्रह गरेको छ ।

अफगानिस्तानमा पछिल्लो समयमा तालिवानले फेरी यस्ता आतङ्कारी हमलालाई तिब्रता दिन थालेका छन् ।