राजनीति

परिवर्तन उल्टाउने कोशिष भएको प्रधानमन्त्री दाहालको स्पष्टोक्ती

चितवन। प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानलाई कार्यान्वयन गर्न नसके देशमा ठूलो दुर्घटना हुने बताएका छन्।

नेकपा(माओवादी केन्द्र) चितवनले आज यहाँ आयोजना गरेको वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको परिवर्तन माओवादीकै कारण सम्भव भएको भन्दै यसलाई अपनत्व गर्ने र संस्थागत गर्ने जिम्मेवारी पनि माओवादीकै काँधमा रहेको बताएका हुन् ।

माओवादी कमजोर होस् भनेर एउटा शक्ति लागिरहेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पार्टी एक हुनसके कसैले कमजोर बनाउन नसक्ने दावी गरे । । उनले निर्वाचन तर्फ मुलुक केन्द्रित भएकाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दहालले आफूहरु मुद्दामा एक हुन नसक्दा पछि परेको भन्दै तेस्रो शक्तिको रुपमा रहेको माओवादी आउँदो निर्वाचनमा पहिलो हुने गरी जनस्तरबाट सङ्गठनलाई एकतावद्ध बनाएर लैजान पनि निर्देशन दिएका छन्।

माओवादीले मात्रै राष्ट्रलाई एकताबद्ध बनाएर अघि बढाउन सक्ने दाबी गर्दै प्रधानमन्त्री दहालले त्यसको प्रयत्नमा आफू जुटिरहेको बताए ।

नेपालको राजनीतिलाई सही बाटोमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने समय आएको भन्दै उनले यसका लागि पार्टीलाई पुनर्ताजगी बनाउनुपर्नेमा जोड दिए ।
उनले दक्षिणपन्थी अतिराष्ट्रवाद बामपन्थको नाममा अहिलेको परिवर्तनलाई उल्टाउने कोसिस भइरहेको तर अहिले त्यो सम्भव नभएको बताउँदै जातीय साम्प्रदायिक विखण्डनवादको प्रवृत्ति बढेर मुलुक द्वन्द्वमा फस्नसक्ने परिस्थिति बन्नसक्ने आशंका गरे । त्यस्तै यसको रक्षाका लागि माओवादी लागिरहेको उल्लेख गरे ।

संविधान सबैका लागि स्वीकार्य बनाउन आवश्यक रहेकाले त्यसकै पक्षमा अहिलेको सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले संविधान घोषणा हुँदा जुन आश्वासन हामीले दिएका थियौँं, त्यो पूरा गर्न हामी प्रतिबद्ध छौं भने । रासस