पु.समाचार

जेठमा स्थानीय निकायको निर्वाचन नहुने संकेत

काठमाण्डौ । निर्वाचन सम्बन्धी महत्वपूर्ण काम गर्नुपर्ने बेला दुई साताका लागि संसद स्थगन गरिएकाले जेठभित्रै चुनाव हुने सम्भावना टर्ने देखिएको छ ।

समयको चापअनुसार संसदले निर्वाचनसँग अन्तरसम्बन्धित कानूनहरु तत्काल पारित र संविधान संशोधनको विषयलाई टुंग्याउनुपर्ने थियो । तर तिनलाई अलपत्र राखेर फागुन १० सम्म संसद स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार मधेसी मोर्चासँग छिट्टै संविधान संशोधनसम्बन्धी विधेयक टुंगो लगाएर चुनावमा जाने बताएका थिए ।

दाहालसँगको छलफलपछि आइतबार मधेसी मोर्चाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा बसे ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, देउवाले पनि संसदबाट छिट्टै संशोधन विधेयक पारित गर्न र त्यसका लागि दुई तिहाई जुटाउन पहल गर्ने आश्वासन दिए । दुई नेताले आश्वासन दिएको २४ घण्टा नबित्दै त्यही संशोधन विधेयक पारित गर्न आवश्यक पर्ने संसदको बैठक भने स्थगित गर्ने निर्णयमा सत्ता पक्ष पुग्यो । यसले न संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने भयो न निर्वाचनसम्बन्धी बाँकी कानूनहरु पारित हुने भयो ।