पु.समाचार

चोरिएको ४८ घण्टाभित्रै यसरी भेटियो शिशु !

वीरगन्ज – नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट हराएको नवजात शिशुलाई प्रहरीले ४८ घन्टाभित्र फेला पारेको छ । गत शुक्रबार हराएको शिशुलाई प्रहरीले आइतबार दिउँसो १ बजे बेल्वा गाविस–९ स्थित बिन्देश्वर साह कानूको घरमा फेला पारी उद्धार गरेको हो । प्रहरीका अनुसार बिन्देश्वरकी छोरी लालसादेवीले अस्पतालबाट नवजात बालक चोरेकी थिइन् ।

सन्तान नभएकाले बच्चा चोरी
सोमबारको नयाँ पत्रिकामा लेखिएको छ, पर्सा भिष्वा घर भई हाल माइती बस्दै आएकी २२ वर्षीया लालसाले आफ्नो छोराछोरी नभएकाले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पाँच वर्षअघि विवाह भए पनि उनको अहिलेसम्म सन्तान छैन । छोराछोरी नभएपछि माइत बसेर उनले नवजात शिशु चोर्ने योजना बनाएको प्रहरीको भनाइ छ । उनले एक महिनादेखि अस्पताल गई मौका हेरिरहेको र शिशुलाई खेलाउने बहानामा चोरेको प्रहरीले जनाएको छ । प्रहरीले लालसालाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक अभियोगमा छानबिन अघि बढाएको छ ।

मध्यक्षेत्रीय प्रहरी निर्देशनालयका नायव प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले छानबिन चलिरहेकाले अहिले नै सबै कुरा नमिल्ने बताए । अस्पतालको पनि लापरबाही देखिएको उनको भनाइ छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले अस्पताल क्षेत्र संवेदनशील बन्दै गएकाले सुरक्षा व्यवस्था बढाउने जानकारी दिए ।

शिशुको अवस्था सामान्य
उद्धार गरिएको शिशुलाई नारायणी उपक्षेत्रीय अस्पतालको एनआइसियू, सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चितरञ्जन साहले बताए । ‘बच्चाको अवस्था नर्मल छ,’ उनले भने । उपचारमा संलग्न चिकित्सक डा। सैलेश ठाकुरले शिशुको अवस्था स्थिर रहेको बताए । ‘बच्चा हामीकहाँ आइपुगेदेखि एनआइसियूमा राखेर उपचार भइरहेको छ । सामान्य इन्फेक्सन देखिएको छ, अरू ठीक छ,’ उनले भने ।

टाइम लाइन
२१ माघ, बिहान ७:००
छपकैया–१ की आशादेवी पासवान नारायणी उपक्षेत्रीय अस्पतालको बेड नम्बर ६५ मा भर्ना भइन् ।
२१ माघ, बिहान १०:४०
आशादेवीले शिशु जन्माइन ।
२१ गते मध्याह्न १:००–२:००
शिशु हराएको भन्दै अस्पतालमा खैलाबैला सुरु भयो । यसैबीचमा अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा टेलिफोनमार्फत उजुरी दिए ।
२१ गते २:०० पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशी अपराध शाखाका प्रहरी निरीक्षक उमाशंकर यादवसहित अस्पताल पुगे । जिल्लाभरका प्रहरी एकाइमा यसबारे जानकारी दिइयो । अस्पताल गएर सुत्केरी नभएको, तर नवजात शिशु कसैले ल्याएको छ कि भनेर सोधपुछ तथा निगरानी गरे । राति नाकानाकामा सम्पूर्ण सवारीसाधन जाँचबुझ तथा मानिसलाई निगरानी गर्न लगाए । दुईजना पीडितका आफन्त तथा अस्पतालका नौजना कर्मचारीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइयो ।
वीरगन्जका एफएममा नवजात शिशु भएको, तर स्याहार्ने महिला सुत्केरी नभएको थाहा भएमा प्रहरीलाई सूचित गर्न सूचना प्रसारण गरियो । प्रहरी नायव उपरीक्षक जोशीले बिहार प्रहरी तथा रक्सौल प्रहरीमा सम्पर्क गरेर सीमावर्ती क्षेत्रमा नवजात शिशु भएको, तर स्याहार्ने महिला सुत्केरी नभएको फेला परेमा जानकारी दिन आग्रह गरे ।
२१ माघ, बेलुका ७:००–१२:००
सोधपुछका लागि ल्याइएका दुईजना पीडितका आफन्त तथा नौजना अस्पतालका कर्मचारीलाई सोधपुछ गरेर छोडियो ।
२२ माघ, दिउँसो ११:००–२:००
नारायणी अस्पतालमा जम्मा भएका पीडितका आफन्तले सडक अवरोध गरे । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, सहायक प्रजिअ, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नागरिक समाज, पत्रकारलगायतसँग सुरक्षासम्बन्धी छलफल भयो । सबैले आफूले पाएको सूचना प्रहरीलाई दिने, अस्पतालको सुरक्षा व्यवस्था सुधार गर्ने, तीन दिनभित्र प्रहरीले अनुसन्धानमा भएको प्रगति सार्वजनिक गर्नेलगायतका सहमति भयो ।
२२ माघ, दिउँसो ३:००
पीडित महिला आशादेवी पासवानका पति र सासूलाई जिल्ला प्रहरी कार्यालय बोलाएर कुनै सूचना पाइन्छ कि भन्ने आसमा प्रहरीले सोधपुछ ग¥यो ।
२३ माघ, बिहान ११:००
एकजनाले टेलिफोनमा नवजात शिशुबारे जानकारी दिए । तर, उनले आप्mनो नाम सार्वजनिक नगर्न आग्रह गरे ।
२३ माघ बिहान ११:१५
प्रहरी नायव उपरीक्षक जोशीसहितको प्रहरी टोली सूचनामा जनाइएको स्थान श्रीपुर पुग्यो र बच्चा चोरेर लगेको भनिएको व्यक्तिलाई चिन्ने अर्को मानिस लिएर आयो ।
२३ माघ, दिउँसो २:००
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साहसहितको प्रहरी टोली बेल्वा–९ मा रहेको बिन्देश्वर साह कानूको घरमा नवजात शिशुलाई लुकाइछिपाई राखेको अवस्थामा शिशुको उद्धार गर्न सफल भयो । र, शिशुलाई अस्पतालमा गई आमा आशादेवी पासवानलाई जिम्मा लगायो ।
‘म आएको दुई साता मात्रै भयो, त्यसैवेलादेखि म अस्पतालको सुरक्षामा सुधार ल्याउन तल्लीन भएर लागेको छु । तर, यो घटनाले मेरा सबै योजना खेर गएजस्तो देखियो । अस्पतालमा बिरामीको मात्रै होइन, कुरुवा, कर्मचारी, स्वास्थ्यकर्मी सबैको सुरक्षा आवश्यक छ । सामान्य नजरले हेर्दा सबै व्यक्ति बिरामी अथवा कुरुवा देखिन्छन् । यदाकदा यसरी आउने आपराधिक गिरोहलाई चिन्न र अस्पतालको सुरक्षाका लागि छुट्टै संयन्त्रको आवश्यकता छ ।

एउटा बच्चा जन्मिएर स्वस्थ भएपछि आमालाई जिम्मा लगाउने हो । उसलाई स्याहारसुसार गर्न अस्पतालको जनशक्ति पर्याप्त छैन । अस्पतालमा पहिलेदेखि नै सिसिटिभी क्यामेरा जडान भए पनि बिग्रिएको अवस्थामा थियो । शनिबारदेखि पावर ब्याकअपको व्यवस्था गरेर १६ वटा सिसिटिभी क्यामेरा चौबिसै घन्टा चल्ने बनाइसकिएको छ । सुरक्षागार्डका रूपमा जम्मा चारजना मात्रै छन् । अब बोर्डबाट पारित गराएर निजी सुरक्षागार्ड राख्ने तयारी गरिरहेको छु ।’ – डा.चित्तरञ्जन शाह, मेडिकल सुपरिटेन्डेन्ट, नारायणी उपक्षेत्रीय अस्पताल