राजनीति

स्थानीय निर्वाचनबारे आयोगले राख्यो यस्तो प्रस्ताव

काठमाडौं – नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ । आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

आयोगले नेपाल सरकारले निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गरे पनि निर्वाचनको मिति भने तोकेको छैन । आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सरकारले मिति नतोकेपछि केही विषयमा थप स्पष्टताका लागि सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

सोमबारको गोरखापत्रमा लेखिएको छ, बैठकपछि आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘सरकारले संवैधानिक दायित्व पूरा गर्न निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गरेकामा सरकारलाई धन्यवाद दिने र आयोगले केही विषयमा स्पष्टताको आवश्यकता महसुस गरेकाले ती विषयमा पनि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।’ आयोगले स्थानीय पुनःसंरचना आयोगका औपचारिक प्रतिवेदन, निर्वाचनका लागि आवश्यक पर्ने बजेट लगायत विषयमा पनि सरकारलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

आयोगले दुई चरणमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता, प्रचार प्रसारको समय, मतदान गर्ने मिति र समय, मतगणना लगायत विषयलाई तालिकीकरण गर्दै सरकारलाई जानकारी गराउने भएको छ । सरकारले निर्वाचनको सुरुको मिति घोषणा गर्ने हो र निर्वाचनका बाँकी प्रक्रिया आयोग आफैँले अगाडि बढाउने हो । आयोगको यस प्रस्तावले राजनीतिक दलहरूलाई निर्वाचनको तयारीलाई अगाडि बढाउन थप दबाब पुग्ने विज्ञहरूको भनाइ छ ।

आइतबारको बैठक विशेष गरी स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन औपचारिक रूपमा आयोगले प्राप्त नगरेसम्म मतदान केन्द्र तोक्न, मतदाता परिचयपत्रको व्यवस्थापन गर्न, मतपत्र डिजाइन र छपाइ गर्न आयोगलाई समस्या हुने भएकाले त्यस विषयमा नै बैठक बढी केन्द्रित थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रमुख आयुक्त यादवले शनिबार गरेको भेटमा अब स्थानीय तहकै निर्वाचनको तयारी गर्न आयोगलाई आग्रह गरेका थिए । त्यसपछि आयोगले आइतबारदेखि निर्वाचनको तयारी उच्चस्तरमा अगाडि बढाएको छ ।
आइतबार बिहान ९ देखि साँझ ६ बजेसम्म आयोगको बैठक बसेको जानकारी प्राप्त भएको छ । सचिव मैनालीका अनुसार, यही माघ २५ गते प्रधानमन्त्रीसहित व्यवस्थापिका–संसद्का प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई आयोगमा आमन्त्रण गरी विद्युतीय मतदान यन्त्रको नमुना देखाइने बताए ।

आयोगले आधुनिक तरिकाले निर्वाचन गराउने तयारी गरे पनि दलहरूको सुझावपछि मात्रै विद्युतीय यन्त्रको प्रयोग गर्ने वा परम्परागत कागजी मतपत्रको प्रयोग गरी निर्वाचन गराउने विषयमा निर्णय गर्ने जनाएको छ ।