राजनीति

देउवा र ओलीबीच यस्तो गोप्य वार्ता, काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्दै !

-समाचार विश्लेषण

काठमाण्डौ । सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सत्ता समिकरणका सवालमा भएको आन्तारिक समझ्दारीमार्फत निर्धारण गरिएको समयसीमा सकिनै लागेको छ । माओवादी र कांग्रेसबीच भएको समझ्दारी अनुसार प्रचण्ड नेतृत्वको सरकारको समयसीमा चैतमा सकिदैछ । माओवादीले नौ महिना सरकार सञ्चालन गर्ने र त्योबीचमा जसरी पनि संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने सहमति भएको थियो, तर दुई पार्टीबीच भएको आन्तारिक समझ्दारी कार्यान्वयन हुने संकेत समाप्त भएको छ । प्रचण्ड नेतृत्वको सरकारले चैतभित्र स्थानीय निकायको निर्वाचन गर्ने समय त टर्यो नै जेठ १० गतेभित्र निर्वाचन गरिसक्ने भन्ने उसको उद्घोषलाई कसैले पत्याउन सकेका छैनन् ।

यहीबीचमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसबीच सम्बन्ध चिसिन सुरु भएका खबरहरु बाहिर आएका छन् । नेपाली कांग्रेसका केही नेताहरुले यसअघिदेखिनै कांग्रेस–माओवादीबीच भएका आन्तारिक समझ्दारी अनुसार प्रचण्ड नहिडेको आरोप लगाउदै उनको कडा आलोचना गर्दै आइरहेका छन् । चैत्रभित्र कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने त्यसबेलाको समझ्दारीमाथि तुषारापात भएको भन्दै कांग्रेसले प्रचण्ड सरकारको विकल्पमा आफ्नो आन्तारिक रणनीति तय गर्ने संकेतहरु देखापर्न थालेका छन् । नयाँ संविधान निर्माण भएलगत्तै तीन दलबीच पालैपालो सरकार चलाउने सम्झौता भएको थियो तर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा निर्माण भएको सरकारसँग उक्त सम्झौताका विषयमा कुरा नमिल्दा प्रचण्ड आफैले उक्त सरकार ढालेको घटना सबैका अगाडि छर्लङ छ ।

अहिले प्रचण्ड स्वयं त्यो अवस्थामा आइपुगेका छन्,जसलाई नेपाली कांग्रेसले ओलीकै अवस्थामा पुर्याइदिन सक्छ । यद्यपि, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार त्यसबेला निकै लोकप्रिय थियो । उसले अघि सारेका विकासका मुद्धा र राष्ट्रियताको मुद्धा निकै जायज र लोकप्रिय थिए । भारतसँग मुलुककै स्वाभिमान जोगाउनु एमाले अध्यक्ष ओलीको अर्को महत्वपूर्ण कदम थियो, जसका कारण उनको सरकार ढाल्न तम्सिने प्रचण्ड र उनको पार्टीलाई समेत निकै घाटा भएको इतिहास जगजायर छ ।

नेपाली कांग्रेस र माओवादीबीचको सत्तासमीकरण अब धेरै दिन टिक्न नसक्ने राजनीतिक विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन् किनभने दुई दलबीचको आन्तारिक समझ्दारी समेत सही ढंगले कार्यान्वयन हुन नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच गोप्य भेटघाट हुन सुरु भएको छ । श्रोतका अनुसार आइतबार मात्र सभापति देउवा र अध्यक्ष ओलीबीच गोप्य टेलिफोन वार्ता भएको छ र सो वार्तामा अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न देउवालाई दबाब दिनुभएको बुझिएको छ । एमाले अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकारले स्थानीय निकायको निर्वाचननै नचाहेको र प्रचण्डको आश्वासन नपत्याउन सभापति देउवालाई सचेत गराउनुभएको बुझिएको छ ।

यसबाट के प्रस्ट हुन्छ भने एमालेले अबको रणनीति सरकार परिवर्तनका लागि कांग्रेसलाई दबाब दिने निश्चित छ । केही वर्षअघि भएको तीन दलबीचको सहमति अनुसारनै जाने हो भने पनि अबको सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ भन्ने मागलाई एमालेले समेत साथ दिने सम्भावना देखिएको छ, यद्यपि, कांग्रेस र माओवादीबीच चर्को अन्तरविरोध देखिएमा सरकारको नेतृत्व एमालेमा जाने समेत सम्भावना नजिकै छ । तर तीन दलीय सहमतिमै टेकेर जाने हो भने यसबेला नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

कांग्रेसको अबको रणनीति
सत्ताको नेतृत्व गरिरहेका माओवादी र कांग्रेसबीचको आन्तरिक सहमतिको कार्यान्वयन नै नभएपछि कांग्रेसभित्रैबाट यसको चर्को विरोध सुरु भएको छ । चैत्रभित्र प्रचण्डले न त संविधान कार्यान्वयनका लागि केही गर्न सके न त स्थानीय निकायको निर्वाचननै गर्न सके । त्यसकारण पनि कांग्रेसले अब आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने र तीनवटै निकायको निर्वाचन आफ्नै नेतृत्वको सरकारले गर्ने नारा अघि सारिसकेको छ । तर प्रधानमन्त्री प्रचण्डको रणनीति भने स्थानीय निकायको निर्वाचनको मिति पर पर सार्ने र सरकारको आयू लम्ब्याउनेमा कुरामा केन्द्रीत भएको देखिन्छ ।

कांग्रेसले प्रचण्डको यो रणनीति बुझेरै अब तत्काल आफ्नो पार्टीको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने नारालाई चर्को रुपमा उठाउने सम्भावना बढेर गएको छ । केही दिन अघिदेखि सुरु भएको सभापति देउवा र अध्यक्ष ओलीबीच गोप्य वार्ता र भेटघाट पनि यसैको संकेत हो, जसले प्रचण्ड नेतृत्वको सरकारलाई मात्र होइन, उनले नेतृत्व गरेको माओवादी केन्द्रका आगामी अभियानहरुमा समेत यसले प्रभाव पारिदिन सक्छ । स्थानीय निकायको निर्वाचनमा कांग्रेस–एमालेको गठबन्धन भएमा माओवादीलाई समेत धक्का पुग्न सक्ने एकथरी राजनीतिक विश्लेषकहरुको भनाई छ ।

कांग्रेसलाई एमालेको पूर्ण सहयोग
तीन दलबीच भएको सहमति विपरित हिँडेको आरोप लगाउँदै जब प्रचण्डले लोकप्रिय र स्थापित हुँदै गएको केपी ओली नेतृत्वको सरकार ढाले, त्यसबेलादेखि एमाले प्रचण्ड र उनको नेतृत्वको पार्टी माओवादीदेखि निकै चिढिएको देखिन्छ । विकास र राष्ट्रियताका मुद्धामा निकै अडि देखिएका केपी ओलीको सरकार इतिहासमै सबैभन्दा लोकप्रिय बन्यो । भारतीय नाकाबन्दी र उसको ज्यादती विरुद्ध तत्कालीन प्रधानमन्त्री ओलीले खुलेरै विरोध गरे । चीनसँगको सामिप्यता बढ्यो ।

सर्वसाधारण जनताले उनको निकै प्रशंसा समेत गरे । त्यहीबीचमा प्रचण्डले ओली नेतृत्वको सरकार ढाले । प्रचण्डको लोकप्रियता ह्वात्तै घट्यो भने ओलीको लोकप्रियता ह्वात्तै बढ्यो । जसका कारण यसबेला एमालेको जनआधार बलियो बनेको छ । प्रचण्ड र उनको पार्टी निकै कमजोर छन् । यही बेला एमालेले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने मुद्धालाई घनिभूत रुपले उठाउने संकेत दिएको छ । जानकारहरुका अनुसार एमालेको अबको रणनीति जसरी पनि प्रचण्ड नेतृत्वको सरकार ढाल्नेमा केन्द्रीत हुनेछ ।

बलियो जनआधार निर्माण गरेको एमालेले यसबेला कांग्रेसलाई साथ दियो भने सरकार परिवर्तन हुने त निश्चितनै छ, त्यसभित्र पनि स्थानीय निकायको निर्वाचनमा कांग्रेस–एमालेको अघोषित कार्यगत एकता हुने संकेत समेत देखिन्छ । जब निर्वाचनमा कांग्रेस र एमालेको अघोषित कार्यगत एकता हुन्छ, त्यसबेला माओवादीलाई स्थानीय तहबाटै बढारिदिने एमालेको राणनीति रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।