राजनीति

विप्लवले बोले सरकारविरुद्ध धावा, पार्टी पंक्तिभित्र कडा सर्कुलर जारी

काठमाण्डौ । राज्यले दमनको बाटो लिएको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपा माओवादीले त्यसको प्रतिरोध गर्न कार्यकतालाई निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी सो पार्टीका प्रमुख नेत्रविक्रम चन्द विप्लवले कडा निर्देशन दिएका हुन् ।

सरकारले आफ्नो पार्टी विरुद्ध दमनकारी नीति लिएको र नजिकिँदै गरेको आफ्नो पार्टीको महाधिवेशनमा वाधा पुर्याउने षडयन्त्र भएको भन्दै विप्लवले सम्पूर्ण पार्टी पंक्तिलाई सरकारविरुद्ध प्रतिरोधमा उत्रिन अपिल गरेका छन् ।

विज्ञप्तिमा विप्लवले आफ्नो पार्टी विरुद्ध सरकारका गृहमन्त्रीनै लागेको आरोप समेत लगाएका छन् । ‘गृहमन्त्रीले आफ्नो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने प्रचार गरेका छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘राज्यको यस्तो दमनकारी नीतिबाट हाम्रो पार्टी विचलित हुने त कल्पनै छैन बरु सशक्त प्रतिरोधको मार्गमा अगाडि बढ्नेछ ।’

विप्लव नेतृत्वको माओवादीले केही महिनाभित्रै केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ । शसस्त्र युद्धबाट जनवादको स्थापना गर्ने रणनीति अख्तियार गरिरहेको सो पार्टीले पछिल्लो समयमा आफ्ना गतिविधि थप तिव्र पारिरहेको छ ।