खेलकुद

हङकङसँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोली हाबी

काठमाण्डौ । हङकङसँगको मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी हाबी भएका छन् । कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लबमा भएको मैत्रिपुर्ण तेक्वान्दो खेलमा नेपालले ६ तौल समुहमै स्वर्ण जित्न सफल भयो । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको खेल अन्तर्गत महिलाको ४९–५३ केजी तौलसमुहमा नेपाली निमा गुरुङले स्वर्ण,हङकङकी सो युइन तिनले रजत तथा रेश्मा थापा र ताङ कित यीनले संयुक्त रुपमा कास्य पदकमै चिक्त बुझाए ।

बुधबार भएको महिलाकै ५३–५७ केजी तौलसमुहमा ज्ञानी चुनाराले स्वर्ण र यीन पीयु यीनले रजत तथा ४५ केजी मुनि रेजीना कार्कीले स्वर्ण र युन मन शाहले रजत पदक जितिन् ।

पुरुषतर्फ ५४ केजीमुनि तारा कुमार रायमाझीले स्वर्ण र क्यु यो हिनले रजत तथा ६८–७२ केजीमा मोहम्मद वेसले स्वर्ण र योङ युन होङले रजत पदक जिते । पुरुषकै ७४–८० केजीमा नेपालका निश्चलमान श्रेष्ठले स्वर्ण र हङकङका चीओङ वाङले रजत पदकमै चित्त बुझाए । खेलको दौरान हङकङ टोलीको प्रशिक्षणमा नेपालकै प्रशिक्षकको रुपमा कल्याण कुँवरको सहभागीता रहेको थियो । मैत्रिपुर्ण खेलमा च्याम्पियन बनेको नेपाल टिमबाट पुर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई मात्र सहभागी गराइएको थियो ।

मैत्रिपुर्ण खेलका लागि तीन पुरुष र चार महिला गरी ७ खेलाडी र एक प्रशिक्षक नेपाल आएको कार्यक्रम संयोजक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले बताए । पुरुषतर्फ र महिला गरी हङकङका र नेपालका समान सात खेलाडीले मैत्रिपूर्ण खेलमा सहभागीता जनाए । हाल हङकङ राष्ट्रिय तेक्वान्दो टोलीको मुख्य प्रशिक्षकको रुपमा रहेका तुल्सी गुरुङ नेपालका पुर्व च्याम्पियन हुन् । प्रतियोगितामा विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्ट,संघका उपाध्यक्ष हरिश्वर पोख्रेल र महासचिव दिपराज गुरुङ लगायतले पुरस्कृत गरे ।