पु.समाचार

सरकारले गर्यो महत्वपूर्ण तयारी, एक खर्ब भित्र्याउने लक्ष्य !

काठमाडौ । सरकार २५ वर्षपछि लगानी सम्मेलनको तयारीमा जुटेको छ । लगानी सम्मेलनमार्फत एक खर्ब विदेशी लगानी भित्र्याउने सरकारको लक्ष्य छ । उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रूपमा फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन गर्न लागेका हुन् । यसअघि सरकारी तहबाट सन् १९९२ मा लगानी सम्मेलन भएको छ ।

लगानी सम्मेलन नजिकै आइपुग्दा उद्योग मन्त्रालय र लगानी बोर्ड तयारीमा व्यस्त देखिएका छन् । सम्मेलनमा १० वटा मुलुकका सरकारी अधिकारी र निजी लगानीकर्ता सहभागी हुनेछन् । नेपाली तथा विदेशी गरी तीन सय जनाको सहभागिता रहने उद्योग मन्त्रालयका उपसचिव विमल बरालले बताए । मंगलबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, सम्मेलन लगानी सम्भाव्यता भएका नौवटा क्षेत्रमा केन्द्रित हुनेछ ।
सम्मेलनका लागि लगानी बोर्डले ‘परियोजना बैंक’ बनाइरहेको छ । तीन प्रकारका परियोजनामा लगानीकर्तामाझ प्रस्तुत गरिने भएको छ । सम्मेलनको आकर्षण विस्तृत सम्भाव्यता अध्ययन भएका परियोजना हुनेछन् । तामाकोसी तेस्रो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्गजस्ता ९/१० वटा ठूला परियोजना अगाडि सार्ने बोर्डको तयारी छ ।

प्रारम्भिक अध्ययन भइसकेका ३०/३५ वटा परियोजना प्रस्तुत गरिनेछ । यसमा राजमार्ग, उत्तर।दक्षिण कोरिडोर लगायत परियोजना हुनेछन् । लगानी सम्भावना भएका तर अध्ययन नगरिएका परियोजना पनि अगाडि सारिनेछ । सरकारले सात प्रदेशमा हस्पिटल बनाउने भनेको छ । कतिपय ठाउँमा केबलकार, होटेल, रिसोर्ट, उद्योग सञ्चालन गर्ने तयारी भइरहेको छ । यस्ता परियोजनामा पनि स्वदेशी विदेशी लगानी जुटाउने सम्मेलनमा प्रयास हुनेछ ।

सम्मेलनमा प्रस्तुत गरिने ‘परियोजना बैंक’ मा ठूला/साना १५÷२० खर्बको परियोजना समेट्ने लगानी बोर्डले जनाएको छ । यसमध्ये सम्मेलनमा न्यूनतम एक खर्ब विदेशी लगानीको प्रतिबद्धता गराउने लक्ष्य राखिएको छ । अध्ययन गरिएका ठूला परियोजना औसत एक खर्ब लगानीका हुन् । दसवटा परियोजनामा दस खर्बभन्दा बढी लगानी आवश्यक हुन्छ । बोर्डका अनुसार बाँकी परियोजनामा पाँचदेखि १० खर्बसम्म लगानी आवश्यक हुनेछ

कतिपय परियोजनामा सरकार आफैं स्पष्ट छैन । कतिपय आयोजना एउटा सरकारले आफैं बनाउने भन्छ, अर्को सरकार आएपछि विदेशी लगानी भित्र्याउने भनिरहेको हुन्छ ।

निजगढ विमानस्थल, काठमाडौं।तराई द्रुत मार्ग, बुढीगण्डकी जलविद्युत् परियोजना बनाउने मोडालिटी नै बनेको छैन । यी परियोजनामा ठूलो लगानी आवश्यक हुन्छ । सरकारले विदेशी लगानी भित्र्याउने निर्णय गरेमा एउटै परियोजनामा ६ खर्बसम्म लगानी भित्र्याउनुपर्ने हुन्छ । एयरपोर्ट सिटीसहित निजगढ विमानस्थल बनाउन ६ खर्ब लाग्ने प्रतिवेदन आइसकेको छ ।