पु.समाचार

सर्वोच्चलाई टेरेनन् सचिवले !

काठमाडौ – सर्वोच्च अदालतबाट अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिवसहितका उच्च अधिकारी विदेश भ्रमणमा निस्किएका छन् ।

सर्वोच्च अदालतले रुक्मशमशेर राणा नेतृत्वको एनओसीलाई वैधानिकता दिने आफ्नो निर्णय कार्यान्वयन गराउन पटकपटक पत्राचार गरिरहे पनि मन्त्रालयकै पदाधिकारी भने अवैधानिक घोषित एनओसीका पदाधिकारीसँग रुस भ्रमणमा निस्किएका हुन् ।

खेलकुदको भौतिक पूर्वाधार अध्ययनका लागि भन्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका अध्यक्ष श्रेष्ठसँग मन्त्रालयका सचिव महेश दाहाल र सहसचिव चूडामणि पौडेल आइतबार रुसतर्फ लागेका छन् । उनीहरूसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निर्माण शाखाका इन्जिनियर अरुण उपाध्याय र तिलोत्तमा बस्याल पनि रुस गएका छन् । मंगलबारको अन्नपूर्णमा लेखिएको छ, रुस भ्रमणमा गएको टोलीले नेपालमा सन् २०१९ मा आयोजना हुने भनिएको १३ औं दक्षिणएसियाली खेलकुद प्रतियोगिता (साग) का लागि पूर्वाधारको अवलोकन गर्ने बताइएको छ ।

सर्वोच्च अदालतबाट अवैधानिक ठहरिएका व्यक्ति र संस्थाले गरेका क्रियाकलापलाई हतोत्साही गर्नुको सट्टा मन्त्रालयकै उच्च अधिकारी उनीहरूको साथ लागेर विदेश जानु रहस्यमय भएको राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल बताउँछन् । ‘ओलम्पिक कमिटी विवाद उत्कर्षमा पुगेको बेला अदालतबाट अवैधानिक घोषित संस्थाका व्यक्तिलाई विदेश जान दिनु नै हुन्थेन, एयरपोर्टबाटै पक्राउ गर्नुपथ्र्यो । अझ तिनै व्यक्तिसँग राज्यका उच्च अधिकारी पनि जानु रहस्यमय छ’, हमालले भने ।

सर्वोच्च अदालतबाट मान्यता पाएको एनओसीका अध्यक्ष राणा भने श्रेष्ठ विदेश जाँदैमा आपत्ति नभए पनि उनीसँगै सरकारी अधिकारी पनि विदेश जानु भने उचित नभएको बताउँछन् । ‘कोही विदेश जाँदैमा आपत्ति जनाइहाल्नु पर्दैन तर अदालतले अवैधानिक घोषित गरेको संस्था वा व्यक्तिसँग सरकारी अधिकारी पनि जानु गलत हो’, राणाले भने, ‘राज्यका नाममा ठूलो धनराशि खर्चेर यस्तो भ्रमण गर्नुको कुनै उपलब्धि छैन । रुसको पूर्वाधार विकाससँग नेपालको पूर्वाधारको तुलना नै गर्न सकिँदैन । त्यसैले यो भ्रमणले केही उपलब्धि दिँदैन ।’

मन्त्रालय रित्तो
मन्त्री र सचिवसहितका पदाधिकारी विदेशयात्रामा निस्किएपछि अहिले युवा तथा खेलकुद मन्त्रालय नेतृत्वविहीन बनेको छ । मन्त्री दलजित श्रीपाली युथ कन्फरेन्समा सहभागी हुन गत शुक्रबार अमेरिका गएका छन् । उनी अझै दुई दिन अमेरिकामा रहने मन्त्रालयका एक अधिकारीले बताए ।

यसैगरी मन्त्रालयका सचिव दाहाल र सहसचिव पौडेल भने आइतबार रुस भ्रमणमा निस्किएका छन् । मन्त्री, सचिव र खेलकुद हेर्ने सहसचिव एकैपटक विदेश जाँदा मन्त्रालयको दैनिक कामकारबाहीमै समस्या परेको मन्त्रालयका ती अधिकारीले बताए ।