प्रवास

गाउँको शिक्षा र विकासका लागि कतारमा संस्था गठन

फलेवास । पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ ।

पर्वतको आर्थर डाँडाखर्क गाविसबाट रोजगारीका लागि कतारमा पुगेका युवाले आर्थर डाँडाखर्क सेवा समाज गठन गरेका हुन् ।

आर्थर गाविसमा रहेका पञ्चकोसी माविसहित अन्य विद्यालयमा अङ्ग्रेजी माध्यममा शिक्षा दिने अभियानमा मुख्य सहयोग गर्न उक्त समाज गठन गरिएको हो ।

समाजले कतारमा रहेका युवालाई पञ्चकोसी मावि भूतपूर्व समाजले सञ्चालन गरेको फेसबुक अभियान मार्फत लाखौँ रुपैयाँ सहयोग सङ्कलन गरिरहेको छ ।

पर्वत युवा सेवा समाज कतारको मातहत रहने गरी गठन भएको आर्थर डाँडाखर्क सेवा समाजको उद्घाटन पर्वत युवा सेवा समाज कतारका अध्यक्ष दीपेन्द्रजंग लामिछानेले गरे ।

आर्थर डाँडाखर्क सेवा समाजका अध्यक्ष धन सुनार खातीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संरक्षक अञ्जिव गुरुङले आर्थरमा शैक्षिक र सामाजिक क्षेत्रको विकासका लागि काम गर्ने जानकारी गराएका थिए । रासस