राजनीति

एमाले अध्यक्ष केपी ओलीले दिए प्रचण्ड र मधेसी दलहरुको सात्तो उडाइदिने धम्की !

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर भयो भनेर हंगामा मच्चाउनेहरुलाई एमालेले आफ्नो शक्ति देखाउने तयारी गरिरहेको बताएका छन् । आइबार एमाले केन्द्रीय मोर्चा संगठनको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले जो सुकै तर्सिए पनि आफुले शक्ति देखाइछाड्ने अठोट समेत गरे ।

एमालेले सुरु गर्ने अभियान अब निकै ठूलो हुने संकेत गर्दै अध्यक्ष ओलीले उक्त अभियानको तस्वीरनै स्याटलाइटबाट मात्र खिच्न सकिने अवस्था आउन लागेको अवगत गराए । उनले भने, ‘एमालेको शक्ति कमजोर भएको छैन, हामी मजबुत छौ, कोही तर्सिए तर्सिउन, हामी हाम्रो शक्ति देखाएरै छाड्छौ ।’

अध्यक्ष ओलीले मधेसबाट एमालेलाई बढार्छौ भन्नेहरु आफै बढारिने बताए । मधेसमा केही मानिसहरुले उपद्रो मच्चाइरहेको बताउँदै उनले उक्त चुरीफुरी अन्तिम हुने संकेत दिए । उनले अब एमाले तराईका राजमार्गमा केन्द्रीत हुने समेत प्रस्ट पारे । अध्यक्ष ओलीले भने, ‘सभाहलमा अब एमाले नअट्ने भो, चौडाई नपुगेपछि लामो हुने भएकोले एमालेले शक्ति प्रदर्शनका लागि राजमार्गलाई रोजेको छ ।’

अध्यक्ष ओलीले मधेसीहरुको चुरुफुरीलाई माकाफुइँको संज्ञा समेत दिए । उनले सरकारमा बस्ने र त्यसको नेतृत्व गर्ने दलहरु  र मधेसी दलहरुप्रति संकेत गर्दै बाँदरले रुख हल्लाएर अरुलाई तर्साउन खोजेजस्तै एमालेलाई तर्साउन खोजेको तर एमाले बाँदरको रुख हल्लाई पाराले नतर्सने चेतावनी समेत दिए ।