पु.समाचार

विद्यार्थी सङ्गठन स्ववियु निर्वाचन गर्नेमा सहमतिमा पुगेपछि सरोकारवालाहरु ढुक्क

काठमाडौँ । घोषणा गरिएको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्बाचन गर्न नेबिसंघ सहितका सबै बिद्या र्थी संगठनहरु तयार भएका छन् ।

नेपाल युवा संस्था सञ्जाल (आयोन)ले काठमाण्डौमा गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै आफूहरु निर्वाचनका लागि तयार रहेको बताएका छन् ।

त्रिविका खेलकुद तथा विद्यार्थी कल्याण शाखाका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले स्ववियु निर्वाचन गर्न त्रिवि तयार रहेको भन्दै निर्वाचनको आवश्यक तयारीका लागि जुटिसकेको बताउनुभयो । उहाँले त्रिवि स्ववियु निर्वाचनसम्बन्धि नियम विनियम, निर्देशिका र आचारसहिंता बनाउने काममा जुटिरहेको बताए ।

कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले त्रिवि स्ववियु निर्वाचन गर्न सदैव तयार रहेकोले विद्यार्थी नेतृत्व तयार देखिनुपर्ने बताए। “हिजो पनि त्रिवि स्ववियु निर्वाचन गर्न तयार थियो । आज पनि छ”–उनले भने ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले आगामी स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठनले पनि तयारी थालेको बताए । उहाँले आफ्नो सङ्गठनले निर्वाचनका मापदण्डका बारेमा केही विमति राखेपनि चुनावमा जाने स्पष्ट पारे । “२८ वर्षको उमेर हदबन्दीका कारणले चुनाव रोकिदैन’–उनले भने, “हामी चुनावभन्दा बाहिर जान सक्दैनौ । स्ववियुको अस्तित्वका लागि चुनावमा सहभागी हुन्छौँ ।”

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले आफ्नो सङ्गठनको जित र हारको मतलब नै नगरीकन निर्वाचन गराउनु एकमात्र एजेन्डा रहेको बताएन् । उहाँले सबै सङ्गठन चुनावको पक्षमा देखिएकाले चुनावलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ ध्यान दिइनुपर्ने जोड दिईन् ।

अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष गङ्गा तिमिल्सेनाले आफ्नो सङ्गठन हरेक निर्वाचनमा सहभागी हुँदै आएको भन्दै आठ वर्षदेखि हुन नसकेको निर्वाचनका लागि यसपटक गर्न आफ्नो सङ्गठन तयार रहेको बताए ।

तराई–मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष यादवले कुनै परिस्थितिमा पनि आगामी स्ववियू निर्वाचन सबैले मिलेर गराउनुपर्ने विचार व्यक्त गरेका थिए । निर्बाचन गर्न सबै बिदार्थी संगठनहरु थतयार भएपछि त्रिभूबन बिश्वबिद्यालय लगायतका सरोकारवालाहरु खुसी भएका छन् ।