राजनीति

कांग्रेसभित्र सिके राउतको विषयले हंगामा, केन्द्रीय सदस्यलेनै मागे गृहमन्त्रीको राजीनामा !

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेले आफ्नै पार्टीबाट नियुक्त भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको राजनीनामा माग गरेका छन् । विगत केही समयअघिदेखि तराई टुक्र्याउने रणनीतिअनुसार बारम्बार काठमाण्डौ विरुद्ध धम्की दिँदै आएका कट्टरपन्थी मधेसी नेता सिके राउतका गतिविधिलाई बेवास्ता गरेको भन्दै केन्द्रीय सदस्य घिमिरेले गृहमन्त्री निधिलाई राउतलाई कार्वाही गर्न नसके राजीनामा दिन आग्रह गरेका हुन् ।

शनिबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै केन्द्रीय सदस्य घिमिरेले आफुले केहीदिन पहिले सिके राउतले बोलेको विषयमा प्रधानमन्त्रीलाई समेत आग्रह गरेको स्पष्ट पार्दै सो कुराको सुनुवाई नभएको बताएका छन् । प्रधानमन्त्रीले आफ्नो आग्रहलाई कानाबतास नलगाएको बताउँदै आफुले आफ्नै पार्टीबाट गृहमन्त्री भएका निधिलाई आग्रह गरेको बताएका छन् । उनले सिके राउतलाई राजद्रोहको मुद्धा लगाउन समेत आग्रह गरेका छन् । यदि राउतमाथि कुनै कार्वाही गर्न नसके पदबाटै राजीनामा दिन उनले गृहमन्त्रीसँग आग्रह समेत गरेका हुन् ।

केन्द्रीय सदस्य घिमिरेले गत जनवरी १९ मा प्रधानमन्त्री दाहाललाई सिके राउतले मुलुकै विखण्डन गर्ने खालको धम्की दिएको र उनलाई तुरुन्त कार्वाही गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले उनको कुराको सुनुवाई नगरेपछि शनिबार गृहमन्त्री निधिसँग उनले राउतलाई तुरुन्त कार्वाहीको माग गरेका हुन् । त्यस्तै, एमाले युवा नेताहरुले समेत राउतलाई तुरुन्तै कार्वाही गर्नुपर्ने माग गर्दै आएका छन् । एमाले युवा संघसँग आबद्ध राजिव पहारी लगायतका नेताहरुले नेता राउतमाथि कार्वाही हुनुपर्ने माग गर्दै आएका हुन् ।

सो विषयमा नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका पार्टीहरुले नेता राउतले बारम्बार दिँदै आएको सो खालका धम्कीका विषयमा कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् । अन्य विषयमा तुरुन्त प्रतिक्रिया दिने एमाले अध्यक्ष केपी ओलीले समेत यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । अध्यक्ष ओलीले प्रतिक्रिया नदिँदा समग्र एमालेका नेता कार्यकर्ताले पार्टी नेतृत्वप्रतिनै आशंका गरेका छन् ।

यस्तो छ केन्द्रीय सदस्य घिमिरेले लेखेको स्टाटस्ः 

उप- प्रधान एवं गृहमन्त्रीजी,जयनेपाल, मैले केहिदिन पहिले सिके राउतले लहानमा बोलेको बिषयमा प्रधानमन्त्रीजीलाई आग्रह गरेको थिएँ |उहाँको कानमा बतास लागेन | मैले तपाईलाई नै भन्नुपर्ने भयो, सिकेलाई राजद्रोह् लगाउनुस, अन्यधा पदबाट राजीनामा दिनोस् |