विशेष

प्रचण्डले सरकार विस्तार गरेकै दिन यसकारण एक्कासि काठमाण्डौ आए भारतीय जनता पार्टीका नेता जोशी !

काठमाण्डौ । मुलुकको राजनीतिक परिस्थिति निकै पेचिलो मोडबाट गुज्रिरहेका बेला पछिल्ला दिनदेखि यता नयाँ संकेतहर देखिन थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार निर्माण भएको ६ महिना वितिसक्दा समेत संविधान कार्यान्वयन र निर्वाचनका सवालमा थप अन्योल उत्पन्न हुँदै गएपछि विपक्षी शक्ति एमाले लगायतका दलहरुले यो सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । त्यतिमात्रै होइन कांग्रेसले समेत यो विषयमा मौन समर्थन जनाउन थालेको संकेत देखापर्न थालेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले त यो सरकारले कुनै हालतमा स्थानीय निकायको निर्वाचन गराउन नसक्ने घोषणा समेत गरिरहेका छन् ।  सरकारका कामकार्वाहीलाई समेत अवरोध गर्दै आएको नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुले प्रचण्ड नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने र त्यसको विकल्प खोज्नुपर्ने भन्दै बहसनै सुरु गर्नुको निकै ठूलो अर्थ रहेको जानकारहरु बताउन थालेका छन् । एमाले लगायतका दलहरुको चर्को आलोचनाको वास्तै नगरी प्रधानमन्त्री दाहालले भने बिहीबार फेरि एकपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । साना दलहरुबाट बिहीबार प्रेमबहादुर सिहं र कुमार खड्कालाई मन्त्री बनाउन उनी सफल भए । तर एमाले लगायत विपक्षी दलका नेताहरुले अन्य साना दलका नेताहरुलाई मन्त्रिपरिषदका सहभागी नहुन आव्हान गरिरहेका छन् । एमालेले अब यो सरकारको आयू बढीमा एक महिना मात्र भएको बताउँदै, त्यसमा सहभागी हुनुको अर्थ नरहेको समेत स्पष्ट पार्दै आएको छ, तर प्रधानमन्त्री दाहाल भने आफ्नै रफ्तार र एमालेको कडा आलोचनाकै बीचमा मन्त्रिपरिषद विस्तारमा लागेका छन् ।

प्रचण्डका क्रियाकलाप नियाल्दैछ कांग्रेस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने यो विषयमा राम्रोसँग मुख खोलेका छैनन् । जानकारहरुका अनुसार दाहाल नेतृत्वको सरकार निर्माण हुनुअघि भएको सम्झौताअनुसार कांग्रेस अझै केही महिना सरकारविरुद्ध बोल्ने पक्षमा छैन । त्यसबेला माओवादी र कांग्रेसबीच चैतसम्मका लागि सत्ता समीकरणको समझ्दारी भएको थियो । त्यो समयसीमासम्म प्रचण्डले कस्तो नीति अख्तियार गर्छन्, त्यही नीतिअनुसार कांग्रेसले आफ्नो रणनीति तयार पार्ने योजना बनाइरहेको एकथरी विश्लेषकहरु बताउँछन् । तर यही बीच पछिल्ला दिन एमाले अध्यक्ष केपी ओली भन्न थालेका छन्, ‘प्रचण्ड नेतृत्वको सरकारको आयू अब २० दिनमात्र हो, त्यसकारण यो सरकारमा साना दलहरु नगएकै ठिक हुन्छ ।’ त्यसैले पनि अहिले एमालेले नेपाल परिवार दल लगायतका साना पार्टीका नेताहरुलाई सरकारमा जानबाट रोकिरहेको श्रोतको दाबी छ ।

उता, प्रचण्ड भने राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई फकाउनमै व्यस्त छन् । कमल थापा र गच्छदारले लिने मन्त्रालयको विषयमा कांग्रेसले भने असन्तुष्टि जनाएको छ । दुवै नेता उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा जाने भएकोले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको हैसियत के हुने ? भन्नेमा निक्र्योल हुन सकेको छैन । यदि थापा र गच्छदार सरकारमा सहभागी भए, कांग्रेसका मन्त्रीहरु दोश्रो हैसियतमा पुग्छन् । यो कुरा कांग्रेसलाई मान्य छैन ।

त्यसैले पनि प्रचण्डले आफुले लिएको सञ्चार मन्त्रालय र कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालय दिएर भएपनि थापा र गच्छदारलाई भित्र्याउने तयारी गरिरहेको श्रोतले बताएको छ । तर यो विषयमा कांग्रेसले भने सहमति जनाएको छैन । कांग्रेसले थापालाई दिने भनिएको परराष्ट्र मन्त्रालयको सवालमा यसअघिनै आपत्ति जनाइसकेको छ । यदि प्रचण्डले यो विषयमा जबर्जस्ती गरे कांग्रेसले फेरि अर्को अप्रिय निर्णय समेत गर्न सक्ने जानकारहरु बताउँछन् । प्रचण्डले जबर्जस्त ीगर्न खोजे कांग्रेसले उल्टै अनिष्ठको बिन्दुमा पुर्याइदिन सक्ने जानकारहरु बताउँछन्, त्यसबेला दाहाल नेतृत्वको सरकारनै ढल्न सक्ने समेत आंकलन गर्न सकिन्छ । त्यसकारण पनि प्रचण्ड नेतृत्वको सरकारलाई अहिले चालिने प्रत्येक कदम फलामको च्युरा चपाए सरह हुने विश्लेषकहरुको भनाई छ ।

किन आए भारतीय जनता पार्टीका वरिष्ठ नेता ?
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका पूर्व अध्यक्ष एवम् प्रभावशाली राजनीतिज्ञ मुरलीमोहन जोशी दुई दिने भ्रमणमा ्बिहीबार नेपाल आएका छन् । नेपालको राजनीतिक परिवेश जब तरल र संकटमा पर्ने गर्छ, त्यसबेला भारतीय सत्तापक्षका नेताहरुले नेपालको भ्रमण गर्ने गरेका उदाहरणहरु प्रशस्तै छन्,यो नेपाल र भारतबीचको निकै लामो राजनीतिक संस्कार पनि हो ।

सरकारले संविधान कार्यान्वयनको पक्षमा भनेजस्तो काम गर्न नसकिरहेको अवस्था र निर्वाचनको सम्भावना पनि टर्दै गएको बेला भारतीय जनता पार्टीका प्रभावशाली नेता काठमाण्डौ आउनु एउटा अनौठो संयोग मात्र नभई निकै ठूलो अर्थ समेत भएको जानकारहरु बताउँछन् ।

बरिष्ठ नेता जोशी सन् १९९१ देखि सन् १९९३ सम्म भाजपका अध्यक्ष थिए । अटल विहारी वाजपेयीका पालामा उनी नेश्नल डेमोक्र्याटिक एलायन्स सरकारको मानव सशोधन तथा विकास मन्त्री समेत बनेका थिए ।

दुई दिने काठमाडैंको बसाईमा उनले विभिन्न दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको श्रोतले बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका प्रभावशाली नेता यसबेला काठमाण्डौ आइपुग्नु र एमाले अध्यक्ष ओलीले यो सरकारको आयू अब २० दिन मात्र बाँकी रहेको उद्घोष गर्दै हिड्नुले एउटा छुट्टै राजनीतिक परिस्थितिको संकेत गरेको एकथरी विश्लेषकहरु बताउँछन् ।